नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन्।
बुधबार केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।
भदौ २३/२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा एमालेले धेरै ठूलो धक्का बेहोरेका बताउँदै उनले भने, ‘जनतासँग पार्टीको सम्बन्ध टुटेको छ। हामी फेरी जुरमुराएर अघि बढ्छौ। गत निर्वाचनमा हामीले इतिहासको सबभन्दा ठुलो धक्का खायौँ। त्यो निर्वाचनको पराजय एमालेको इतिहासकै सबैभन्दा ठुलो पराजय हो। तर हामी धुलो टकटकाएर भए पनि उठ्छौँ।’
यस्तै, उनले पार्टी सदस्यताको प्रश्न पार्टी निर्माणको महत्त्वपूर्ण आधार हुने बताए। सदस्यहरूको आधारमा पार्टीको भविष्य निर्माण हुने बताउँदै उनले भने, ‘पार्टी सदस्यताको प्रश्न पार्टी निर्माणको महत्त्वपूर्ण आधार हो। सदस्यहरू कस्ता हुन्छन् त्यसका आधारमा पार्टीको भविष्य निर्धारण हुन्छ।’
प्रकाशित: २० जेष्ठ २०८३ १२:३६ बुधबार





