नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्ग निर्देशन सिद्धान्त पार्टीले नछाडेको बताएका छन्। पार्टीको विधान महाधिवेशनमा संगठानात्मक प्रस्तावमाथि उठेका प्रश्नको आइतबार जवाफ दिँदै महासचिव पोखरेलले यस्तो बताएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
‘महासचिवज्यूले पार्टी दृष्टिकोणमा अन्योल भएर प्रचार गरिएकामा यस्तो नगर्न, पत्रकार साथीहरूलाई पनि अमूकअमूक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति उहाँले आग्रह गर्नुभएको छ,’ गौतमले भने, ‘हामी जबजकै मार्ग निर्देशक सिद्धान्तमा छौं, जबज छोड्यो, जबज छोड्यो भन्नुभयो। हाम्रा सबै डकुमेन्टहरूमा जबजकै मार्ग निर्देशनमा हामी अगाडि बढिरहेको उल्लेख छ।’
पाँचौँ महाधिवेशनदेखि मदन भण्डारीले अगाडि सारेको जबजको दृष्टिकोणलाई समृद्ध गर्न त्यही बेलादेखि अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको पनि गौतमले दाबी गरे।
‘कार्यनीतिमा केपीले लेख्नुभएको हो, त्यो पारित भएको छ। जननेता मदन भण्डारीले जे उल्लेख गरेर जानुभएको छ, त्यसकै जगमा, त्यसकै आलोकमा यो पार्टी अघि बढिरहेको छ,’ गौतमले अगाडि भने। जबज अनुकूलकै पार्टी निर्माणका लागि लोकतान्त्रिक विधिलाई अपनाउँदै आएको पनि उनले दाबी गरे।
प्रकाशित: २२ भाद्र २०८२ १६:०२ आइतबार





