१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

एमालेले भन्यो: बजेट हावादारी

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष एमाले संसदीय दलको बैठकले निकालेको बताएका छन्।

शनिबार बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सरकारको बजेटले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको उनको आरोप थियो।

उनले भने, ‘यो बजेट समग्रतामा गैरजिम्मेवार र हावादारी छ। दुई तिहाइ प्राप्त गरेको सरकारको जुन ट्रान्सफर्मेसन, प्याराडाइम सिफ्टको बजेट हुनुपथ्र्यो, त्यो आउन सकेको छैन। यसले एउटा गरिब, लोअर क्लास, सर्वहारा वर्ग, मजदुर, किसानलाई ध्यान दिन सकेको छैन। यसले महिलाहरूलाई, बालबालिकाहरूलाई, विद्यार्थीहरूलाई ध्यान दिन सकेको छैन। शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि ध्यान दिन सकेको छैन।’

महरले बजेटको स्रोत सुनिश्चितता पनि कमजोर रहेको टिप्पणी गरे। अर्थमन्त्रीले ऋणमा निर्भर नहुने प्रतिबद्धता जनाए पनि बजेट कार्यान्वयनका लागि ऋणमै भर परेको देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएको उनको भनाइ थियो।

‘यसको स्रोत सुनिश्चितता जुन छ, त्यो पनि भरपर्दो छैन । अर्थमन्त्रीको योभन्दा पहिले ‘ऋण लिएर पनि कहीँ हुन्छ ?’ भन्ने थियो, अहिले ऋणमा भर परेको देखिन्छ र त्यो ऋणको पनि स्रोतको सुनिश्चितता छैन। त्यसैले यो बजेट पर्याप्त छैन र गैरजिम्मेवार र हावादारी छ भन्ने हाम्रो निष्कर्ष रहेको छ,’ उनले भने।

 

प्रकाशित: १६ जेष्ठ २०८३ २०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App