नेकपा (एमाले) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको भनिएको घटनाबारे सरकारसँग संसद्मा जवाफ माग गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद गुरु बरालले भारतीय सुरक्षाकर्मी सिभिल पोशाकमा नेपाली भूमिमा प्रवेश गरेको दाबी गर्दै सीमा सुरक्षाको विषयमा सरकारको भूमिका स्पष्ट पार्न आग्रह गरे। उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षासँगै राष्ट्रिय स्वाभिमानको प्रश्न उठेको बताए।
बरालले सुस्ता क्षेत्रका स्थानीय पुनः विरोधमा उत्रिनुपर्ने अवस्था आएको उल्लेख गर्दै सीमा अतिक्रमणजस्ता संवेदनशील विषयमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाए।
उनले प्रधानमन्त्रीसँग सीमा सुरक्षाका विषयमा संसद्ले अझै कति पटक ध्यानाकर्षण गराउनुपर्ने भन्दै प्रश्न गर्दै यस्ता घटनाप्रति सरकार जिम्मेवार र सक्रिय बन्नुपर्ने धारणा राखे।
सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा साम्प्रदायिक तनावको कारण र सुरक्षा संयन्त्रको भूमिकाबारे पनि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित: १९ श्रावण २०८३ १४:३२ मंगलबार





