नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बुधबारबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलाले नयाँ औपचारिक निर्णय नगर्ने तर आन्तरिक एकता र आगामी स्थानीय निर्वाचनको तयारीका लागि ऊर्जा प्रवाह गर्ने बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले ११ औं महाधिवेशनपछिको यो सबैभन्दा ठूलो पार्टी उपस्थिति भएको बताए।
भेलाले निर्णय गर्ने अधिकार राख्दैन भन्दै ज्ञवालीले पार्टीका नीतिगत निर्णय राष्ट्रिय महाधिवेशन र दुई महाधिवेशनबीचमा केन्द्रीय कमिटी बैठकले मात्र गर्ने स्पष्ट पारे। ‘केन्द्रमा अध्यक्षदेखि तल पालिका कमिटीका अध्यक्ष-उपाध्यक्ष र स्थानीय तहका जनप्रतिनिधि समेत सहभागी भएकाले यसले पार्टीमा नयाँ सिनर्जी र ऊर्जा निर्माण गर्छ,’ उनले भने।
ज्ञवालीका अनुसार राष्ट्रिय भेला मुख्यतया दुई उद्देश्यमा केन्द्रित छ। पहिलो, गत वर्ष भदौ २३-२४ को घटना, फागुन २१ को निर्वाचनमा बेहोर्नुपरेको धक्का र त्यसपछि करिब छ महिना चलेको पार्टी पुनर्गठन तथा नेतृत्वसम्बन्धी विवादलाई असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकले टुंग्याएपछि बनेको एकताको सन्देश भुइँतहसम्म पुर्याउनु रहेको उनले बताए।
दोस्रो, आगामी चैत वा ढिलोमा वैशाखसम्म घोषणा हुनसक्ने स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गर्नु भेलाको लक्ष्य रहेको ज्ञवालीले जानकारी दिए। तेस्रो केन्द्रीय कमिटी बैठकले तोकेका लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचनको तयारी गरी दुई अभिभारा पूरा गर्न भेलाले पार्टीलाई एकढिक्का बनाउने उनको भनाइ छ।
‘कट अफ डेट’ पछि एकताको सन्देश
निर्वाचनको परिणामपछि नेतृत्व मात्रै दोषी हो कि भन्ने ढंगले करिब छ महिना पार्टीभित्र ध्रुवीकरण देखिएको स्वीकार गर्दै ज्ञवालीले तेस्रो बैठकमा दुई अलग प्रतिवेदन मिलाएर विवाद टुंग्याइएको बताए। अध्यक्ष केपी ओलीले उक्त बैठकलाई ‘कट अफ डेट’ का रूपमा लिँदै त्यसअघिका आक्षेप र आरोप-प्रत्यारोप बिर्सन आग्रह गरेको उनले स्मरण गरे।
केन्द्रमा विवाद टुंगिए पनि बहस तल्लो तहसम्म पुगेकाले सिंगो पार्टी पंक्तिलाई एक ठाउँमा ल्याएर ‘पार्टीमा समस्या छैन’ भन्ने सन्देश दिन भेला आयोजना गरिएको ज्ञवालीले बताए। पार्टी संकटमा परेका बेला दुवै प्रतिवेदन मिलाउन आफू जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचन अध्यक्ष ओलीकै नेतृत्वमा लड्ने र राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे।
विद्या भण्डारी र महाधिवेशनको प्रसंग
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयमा ज्ञवालीले सैद्धान्तिक र व्यक्तिगत रूपमा अझै पनि राष्ट्राध्यक्ष वा उपराष्ट्रपति भइसकेका व्यक्ति दलीय राजनीतिमा फर्किनु नहुने मान्यता राख्ने बताए। तर, पार्टी एकता सुदृढ गर्न उनलाई सम्मानजनक स्थान दिने पार्टीको निर्णय कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको उनको प्रस्टोक्ति छ।
११ औं महाधिवेशनमा महासचिवको आकांक्षी रहे पनि पार्टी एकता जोगाउन अध्यक्षको इच्छा विपरीत उम्मेदवारी नदिएको र अहिले स्थायी कमिटी सदस्यका रूपमा भूमिका निर्वाह गरिरहेको उनले बताए। राजनीतिक जीवनमा पदभन्दा कार्यसम्पादन महत्वपूर्ण हुने उनको धारणा छ।
कमजोरी सुधार र सहकार्यको नीति
अघिल्लो निर्वाचनमा २८ प्रतिशत रहेको एमालेको लोकप्रिय मत १४-१५ प्रतिशतमा झरेको र समग्र कम्युनिस्ट मत ४३-४४ प्रतिशतबाट २२-२३ प्रतिशतमा सीमित भएको तथ्यांक राख्दै ज्ञवालीले पार्टीका कमजोरीहरूको समीक्षा गरिएको बताए। सत्ता समीकरणको अत्यधिक खेल, युवा र जनतासँगको सम्बन्ध टुट्नु तथा ठूला होटल र मञ्चमुखी ‘एलिट’ कार्यशैली सुधार्दै चेकलिस्ट बनाएर अघि बढे २०६४ र २०७२ मा जस्तै एमाले पुनः उठ्ने उनले दाबी गरे।
संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति, संविधान पक्षधर र नागरिक समाजसँग मुद्दामा आधारित सहकार्य गर्न एमाले सधैँ खुला रहेको निर्णय भेलाले पारित गर्ने प्रस्तावमा समेत जोडका साथ आउने उनले बताए।
एमाले छोडेर गएका पूर्वअध्यक्ष झलनाथ खनाल लगायतका नेताहरू पार्टीको नीति, नेतृत्व र आन्दोलन स्वीकारेर आए अनावश्यक किचलो नगरी स्वागत गरिने ज्ञवालीले स्पष्ट पारे। तर, नेकपा संयोजक पुष्पकमल दाहालसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको र व्यक्ति केन्द्रित एकता नटिक्ने बताउँदै उनले मुद्दागत सहकार्य मात्र प्राथमिकतामा रहेको जनाए।
प्रकाशित: २ मंसिर २०८३ २०:२६ बुधबार




-600x400.jpg)
