नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन तयारीका सन्दर्भमा आज एमाले पार्टी कार्यालय च्यासलमा बैठक बसेको छ।
केन्द्रीय जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले विधान महाधिवेशन तयारीका बारेमा जानकारी गराउँदै सक्रियताका साथ तोकिएका जिम्मेवारी पूरा गरी आसन्न महाधिवेशन सफल बनाउन जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरूसँग अनुरोध गरेका छन्।
करिब एक हप्ता मात्र समय रहेकाले अझ खटिएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिंदै संयोजक ढकालले महाधिवेशनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचारप्रसार, ‘मिडिया सेन्टर’ स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल भएको संयोजक ढकालले जानकारी दिए।
उनले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गरे। बैठकमा एमालेका सबै जनसंगठनका अध्यक्ष र इन्चार्जको सहभागिता थियो।
एमाले विधान महाधिवेशन यही भदौ २० देखि २२ सम्म ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ।
प्रकाशित: १३ भाद्र २०८२ १८:०३ शुक्रबार




-600x400.jpg)
