२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेको घोषणापत्रः युवालाई निःशुल्क डाटा, डलर कार्डदेखि निर्ब्याजी ऋणसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो निर्वाचन घोषणापत्रमा  युवा लक्षित विभिन्न आकर्षक कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचनपछि मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयन गरिने प्रतिबद्धतासहित १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा  गरेको छ । 

त्यसैगरी एमालेले सूचना प्रविधि क्षेत्रको अनुसन्धान, उत्पादन, विकास र निर्यात प्रवर्द्धन गर्न तथा स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको डलर बैंक कार्ड उपलब्ध गराउने प्रतिबद्धता आफ्नो घोषणापत्रमा गरेको छ । 

घोषणापत्रमा वैदेशिक रोजगारीमा रहेका र देशमा विप्रेषण पठाइरहेका श्रमिकको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउने र उनीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तर आवद्ध गराइने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेकपा एमालेले आफ्नो घोषणापत्रमा प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण उपलब्ध गराउने योजनाको साथै पारिश्रमिकसहितको इन्टर्नशीपको व्यवस्था गर्ने उल्लेख गरिएको छ। 

त्यसैगरी राज्यबाट गरीब परिवारको रूपमा पहिचान भएका घरपरिवारले २०८२ साल भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिने घोषणापत्रमा उल्लेख छ।  

प्रकाशित: ७ फाल्गुन २०८२ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App