नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विशेष व्यवस्थापन गरिएको छ।
भोलि शुक्रबारदेखि सुरु हुने तीनदिने महाधिवेशनमा सहभागी हुन देशभरबाट २,३४१ प्रतिनिधि तथा आयोजक काठमाडौं आइसकेका छन्। तर, महाधिवेशन स्थलमा बनाइएका चार प्रवेशद्वारमध्ये पहिलो द्वार अध्यक्ष ओलीको प्रवेशका लागि मात्रै आरक्षित गरिएको छ।
पार्टीका अन्य शीर्ष पदाधिकारी, मन्त्रीहरू तथा मुख्यमन्त्रीहरूले समेत दोस्रो र तेस्रो द्वारबाट आम प्रतिनिधिसँगै प्रवेश गर्नेछन्। भित्र प्रवेशका लागि पनि डिजिटल प्रविधिको प्रयोग गर्दै परिचयपत्र स्क्यान गर्नुपर्नेछ। जसका लागि छ वटा कम्प्युटर बुथ राखिएको छ।
त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनेछन्। मूल प्रवेश द्वारबाट प्रवेश गर्दा हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अङ्कित झण्डा लहरै फहराएका हुनेछन्।
महाधिवेशन जानेबाटो सातदोबाटोदेखि गोदावरीसम्म जाने बाटो झकिझकाउ बनाइएको। उक्त सडकखण्डमा करिब १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
दायाँबायाँ बिजुलीका खम्बामा नेकपा (एमाले) को हसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झण्डाले सिँगारिएका छन्।
पार्टीको पाँचाैं महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सम्मेलनलाई डिजिटल सिस्टममा जोडिएको बताए।
महाधिवेशनको मञ्चमा पनि यस्तै वरीयताक्रम देखिनेछ। मञ्चमा १८ जना पदाधिकारीहरू मात्र बस्ने व्यवस्था मिलाइएको छ। मञ्चलाई पनि दुई खण्डमा बाँडिएको छ। अघिल्लो खण्डमा अध्यक्ष ओली एक्लै बस्नेछन् भने अन्य पदाधिकारीहरू पछिल्लो खण्डमा मर्यादाक्रम अनुसार बस्नेछन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
महाधिवेशनले पार्टीको विचार र सिद्धान्तमाथि गहन छलफल गरी आगामी कार्यदिशा तय गर्ने एमाले महासचिव पोखरेलले बताए।
प्रकाशित: १९ भाद्र २०८२ २०:५८ बिहीबार





