नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले एमालेले विगत ३५ वर्षमा जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको दाबी गर्दै ‘३५ वर्ष शासन गर्यौ’ भन्ने आरोप तथ्यविपरीत रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले पछिल्लो समय एमालेलाई लक्षित गर्दै ‘३५ वर्षमा के गर्यौ ?’ भन्ने प्रश्न उठाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट आम नागरिकमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गरेका छन्।
उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले तीन कार्यकालमा क्रमशः २९८ दिन, १ हजार २४४ दिन र ४२५ दिन गरी कुल १ हजार ९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका छन्।
यस्तै, तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गरेका थिए। यी सबै अवधि जोड्दा एमाले नेतृत्वको सरकारको कुल अवधि ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै हुने आचार्यको भनाइ छ।
उनले २०४८ सालयता करिब २७ वर्ष अन्य राजनीतिक दलहरूले सरकार सञ्चालन गरेको उल्लेख गर्दै ३५ वर्षको अवधिको एक चौथाइ समय पनि एमालेले सरकारको नेतृत्व नगरेको जिकिर गरेका छन्। ‘सबै बिग्रिएका कामको दोष एमालेलाई मात्रै थोपर्न मिल्छ ?’ भन्दै उनले प्रश्नसमेत उठाएका छन्।
आचार्यले छोटो कार्यकालका बाबजुद एमाले नेतृत्वका सरकारहरूले सामाजिक सुरक्षा भत्ताको सुरुवात तथा विस्तार, सुशासन प्रवर्द्धन, राष्ट्रियताको सुदृढ अडान र ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरेका छन्।
उनले एमाले नेतृत्वका सरकारले नागरिकका मरेजस्तै भएका आशा–आकांक्षालाई पुनः जागृत गराएको र राज्य तथा प्रणालीप्रति जनविश्वास बढाउने काम गरेको उल्लेख गर्दै राजनीतिक मूल्यांकन तथ्यका आधारमा गर्न आग्रह गरेका छन्। साथै, भ्रमपूर्ण भाष्यको पछि नलागी सत्यमा आधारित आलोचना र बहस गर्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रकाशित: ४ श्रावण २०८३ १५:४३ सोमबार




-600x400.jpg)
