७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टीको पराजयले एमाले नेता चिन्तित: नेतृत्व नसुध्रिए पार्टी पंत्तिनै स्कूटरमा आट्ने चेतावनी

फाइल तस्बिर

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुधार नगरे आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन्।

शनिबार बुटवलमा चिन्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रममा उनले पछिल्ला तीन निर्वाचनको नतिजा हेर्दा एमाले मात्र होइन, समग्र पुराना राजनीतिक दलहरूको अवस्था कमजोर बन्दै गएको बताए। कार्यशैली परिवर्तन नगर्ने हो भने सबै दलहरू ‘सामूहिक मलामी जाने’ स्थितिमा पुग्न सक्ने उनको भनाइ थियो।

उनले २०७४ सालको निर्वाचन सम्झँदै एमालेले १७४ सिट जितेको भए पनि त्यस उपलब्धि जोगाउन नसकेको स्वीकार गरे। ‘पहिला कम्युनिस्टहरू ३/४ वटा बसमा आउँथे, २०७९ सम्म आइपुग्दा एउटा बसमा अट्ने भयौँ, अहिले त माइक्रो बसमा अट्ने अवस्थामा छौँ। यस्तै जारी रह्यो भने अर्को पटक स्कुटरमै अट्ने हुन्छ,’ उनले व्यंग्यात्मक रूपमा भने।

नेता पाण्डेले पार्टीभित्र कमजोरी सुधार गर्न कठोर निर्णय लिनुपर्नेमा जोड दिँदै, नेतृत्वले आत्मालोचना नगरे आगामी दिनमा चुनाव लड्न इच्छुक उम्मेदवारसमेत नपाइने चेतावनी दिए। ‘हार्ने निश्चित भएको चुनावमा कार्यकर्ता किन उठ्छ?’ उनले प्रश्न गरे।

उनले विगतका गलत निर्णयकै कारण पार्टी कमजोर बनेको उल्लेख गर्दै अब सही दिशातर्फ अघि बढ्नुपर्ने बताए। साथै, संविधानमै पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी भएको उनको भनाइ छ।

प्रकाशित: ७ चैत्र २०८२ १६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App