७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तहको निर्वाचनमा जुट्न एमाले नेतृ ढकालको आग्रह

नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकता बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नु पर्ने बताएकी छन्।

पार्टीको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्षको प्रतिवेदनमा आफ्ना धारणा राख्दै ढकालले फागुनको निर्वाचनले पार्टीलाई ठुलो धक्का दिएको र त्यसका पराकम्प अझै आइरहेको बताइन्। उनले स्थानीय तहको चुनावमा आउन सक्ने झन् ठुलो धक्काको आजैबाट प्रतिरोध गर्ने सामर्थ्य पार्टीले तयार गर्नुपर्नेमा जोड दिइन्।

‘पार्टीप्रति जनतामा किन किन निराशा छाएको छ। त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्यहोर्‍यौं। त्यसको पराकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुँदैछ’ ढकालले भनिन् ‘तर पार्टीभित्रको एकता, कार्यकर्ताप्रतिको सम्मान र जनताप्रतिको जवाफदेहिताले हामी यो धक्काको सामना गरेर विजय हासिल गर्न सक्छौं।’

वीरेन्द्रनगर नगरपालिकाकी मेयर समेत रहेकी ढकालले पार्टी र संगठनप्रति प्रतिबद्ध हजारौं कार्यकर्ता मैदान रहेकोले एमालेले निराश हुनुपर्ने अवस्था नभएको उल्लेख गरिन्। ‘मैदानमा हजारौं प्रतिबद्ध कार्यकर्ता र हामीलाई माया गर्ने मतदाता छन्’ ढकालले थप भनिन् ‘गत निर्वाचनमा कोही अल्गोरिदमको प्रभावमा परे। कसैले हाम्रा कार्यशैलीमा असहमति राखेर मत बदले। उनीहरूको मन एमालेमै छ। अबको निर्वाचनमा मनसँगै मत पनि एमालेमै हाल्ने वातावरण बनाउन सबैले तहअनुसारको जिम्मेवारी निर्वाह गरौं।’

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको अंश उद्धृत गर्दै उनले जनताप्रतिको विश्वास फर्काएर आगामी निर्वाचन जित्न सकिने बताइन्। ‘अध्यक्षज्यूको प्रतिवेदनमा उल्लेख भए अनुसार नै जनताको मन बुझेर, गल्ती सच्याएर, संवाद सुधारेर, संगठन जगाएर, नीति स्पष्ट पारेर र नयाँ विश्वास बनाएर आगामी चुनाव जित्न सकिन्छ’ ढकालले भनिन् ‘प्रतिवेदनको यो अंश जिम्मेवारीमा भएका सबै कमरेडहरूले पूरा गरौं। पार्टीको पक्षमा माहोल फर्कन्छ।’

उनले लामो अन्तरालमा मात्र केन्द्रीय कमिटीको बैठक बसेको र नयाँ निर्वाचनको चहलपहल सुरु भइसकेकोले यस बैठकमा स्थानीय तहको चुनावी रणनीति र एजेण्डाका बारेमा पनि छलफल होस् भन्ने माग गरेकी छिन्।

प्रकाशित: ७ आश्विन २०८३ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App