बुधबारै पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बयान लिएर महरलाई साँझ नै छाडेको हो।
सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता रामहरि शर्माले महरलाई हाजिर जमानीमा छाडेको पुष्टि गरे। उनले महरसँग बयान लिने काम सकिएकाले हाजिर जमानीमा छाडिएको बताए।
‘हामीकहाँ बयान लिने काम सकिएपछि छाडेका छौं। अब बाँकी अनुसन्धान गर्ने निकाय(नेपाल प्रहरीको साइबर ब्युरो)ले अनुसन्धान सकेपछि अभियोजन हुन्छ,’ शर्माले भने।
महरमाथि बझाङकै रश्मीला धामीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको आरोप लगाउँदै हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। सोही जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएको खबरपछि बुधबारै महर साइबर ब्युरोमा हाजिर भएका थिए। त्यसपछि प्रहरीले पक्राउ गरेर बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगेको थियो।
महरविरुद्ध धामीले आफूमाथि अपशब्द र विभिन्न लाञ्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोस्ट गर्ने गरेको आरोप लगाएकी छन्।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्युतीय सञ्चार माध्यमहरूमा कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउन, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै पनि किसिमको अमर्यादित कार्य गर्ने वा गर्न नपाइने भन्ने उल्लेख छ।
यो कसुर गरेको पुष्टि भएमा अभियुक्तविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
प्रकाशित: ११ भाद्र २०८२ १८:३६ बुधबार





