नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच सत्ता गठबन्धन भएको झन्डै डेढ महिना भयो।
सम्झौता अनुसार गण्डकी र मधेश प्रदेशबाहेक अन्य ५ प्रदेशमा सरकार गठन भइसकेको छ। एमाले र नेकपाबिचको सहमति अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनको नयाँ सरकार बनिसकेको छ।
एमाले र नेकपाबिच गठबन्धन बनेपनि गण्डकीमा भने एमाले लाज पचाएर सरकारमा बसेको छ। केन्द्रमा दुई पार्टीबिच गठबन्धन गरेर अगाडि बढ्ने भनेपछि त्यसको परिणाम अन्य प्रदेशमा नयाँ समीकरण अनुसार सरकार बनिरहँदा गण्डकीमा भने एमाले पुरानै समीकरण अनुसार सरकारमा झुण्डिएर बसिरहेको हो।
जसले गर्दा एमाले सत्तालोलुप पार्टी भएको आरोप लागिरहेको छ। अर्कोतर्फ सत्ताको नेतृत्व गरिरहेको कांग्रेस भने एमालेले सरकार छाडोस् भन्ने पक्षमा छ। किनकि एमाले बिना नै गण्डकीमा कांग्रेसको बहुमत पुग्छ।
एमालेले सरकार नछाड्नुको कारण पनि एमाले र नेकपाले गण्डकीमा सरकार बनाउन नसक्ने स्थिति देखिएकाले हो। गण्डकीमा एमालेले सरकार छाडे पनि वर्तमान सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार ढल्दैन। सरकार नढल्ने मात्रै होइन, एमालेले सरकार छाडे पनि गण्डकीमा पाण्डे नेतृत्वको सरकारले विश्वासको मतसमेत लिनुपर्दैन।
पाण्डे नेतृत्वको सरकारलाई एमालेले विश्वासको मत नदिएकाले उसले सरकार छाड्दा पनि विश्वासको मत लिनुपर्ने आवश्यकता रहँदैन। कांग्रेससहित राप्रपा र स्वतन्त्र सांसदको सहयोगमा बनेको पाण्डे सरकारमा एमाले धेरैपछि मात्रै मिसिएको हो।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे निलम्बित रहेकाले अहिले ५९ सदस्यीय बनेको छ। जसमा कांग्रेसका २७, एमालेको २२, नेकपाको ७, राप्रपाको २ र तत्कालीन माओवादीको चुनाव चिह्नबाट जितेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सांसद फडिन्द्र देवकोटा छन्।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २ र प्रलोपाका एक सांसदले समर्थन रहेकाले बहुमत पुग्नेछ। जसलाई भत्काउन एमाले–नेकपा गठबन्धनले राप्रपालाई विश्वासमा लिनुपर्ने हुन्छ। तर विगतमा पनि यो एमाले–नेकपा गठबन्धनलाई राप्रपाले गण्डकीमा समर्थन गरेको थिएन भने अहिले पनि समर्थन गर्ने सम्भावना नरहेको राप्रपा निकट स्रोत बताउँछ।
सत्ता गठबन्धन फेर्न गण्डकीमा एमालेले राप्रपालाई अनौपचारिक रूपमा प्रस्ताव गरिसकेको छ। तर राप्रपाले त्यसलाई वास्ता नगर्दा एमाले तत्काल सरकार नछाडी बसेको छ।
एमाले सरकारमा झुण्डिएर बसिरहेको स्वयम् सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्व गरिरहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत मन परेको छैन। उनी पनि एमालेले सरकार छाडोस् भन्ने पक्षमा रहेको स्वयम् उनकै अभिव्यक्तिबाट प्रष्ट हुन्छ।
पत्रकारसँग गरिएको पछिल्लो एक कुराकानीमा मुख्यमन्त्री पाण्डेले एमालेको सत्तालोलुप चरित्रले आफूलाई आश्चर्यमा पारेको टिप्पणी गरेका छन्। आफ्नो बहुमत रहेको दाबी गर्दै उनले भनेका छन्,‘एमालेले सरकार छाड्दा मलाई केही अप्ठ्यारो हुँदैन, तर किन छाडिरहेको छैन मलाई थाहा छैन।’
मुख्यमन्त्री पाण्डेले केन्द्रमा भएको सहमति अनुसार एमालेले सरकार छाड्नुपर्नेमा नछाडेर पुराना दलहरू सत्ताका लागि मरिहत्ते गर्छन् भन्ने आरोपलाई पुष्टि गर्न मद्दत पुगेको बताए।
‘एमाले आफैले सरकार छाडेर जाओस् भन्ने पक्षमा म छु’,उनले भने,‘हैन अझै पनि छाड्न आनाकानी गरिरहे म आफै एउटा निर्णयमा पुग्छु।’
उनले सरकार छाडेर एमाले नगए एमाले मन्त्रीहरूलाई बर्खास्त गर्न सक्ने आशय व्यक्त गरेका छन्। तर त्यसअघि एमालेसँग निर्णायक वार्ता गर्ने भन्दै उनले भनेका छन्,‘सरकार छाड्ने हो भने पनि चाँडो निर्णय गर्नुपर्यो, होइन नछाड्ने हो भने पनि गठबन्धन चुनावसम्मै जाने सहमति हुनुपर्यो।’
कांग्रेसले एमालेभन्दा बरु नेकपालाई प्राथमिकतामा राखेको छ। कांग्रेसले नेकपालाई सत्ता सहकार्यका लागि प्रस्तावसमेत गरिसकेको कांग्रेसका एक सांसदले बताए।
उनले भने,‘हामीले औपचारिक रूपमै नेकपालाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छौँ, तर यहाँको नेकपा नेतृत्वले आँट नगर्दा त्यो अगाडि बढ्न सकेको छैन।’
ती सांसदले एमाले लाज पचाएर सरकारमा बसिरहेकोप्रति आश्चर्य व्यक्त गरे। हामीले त केन्द्रमा गठबन्धन तोडिएसँगै यहाँ पनि तोडियो भन्ने सोचेका छौँ’,उनले भने,‘तर एमाले सरकारमा टाँसिएर बसेको छ। सरकार छोडेर जाओस् भन्दा पनि लाज पचाएर बसिरहे पछि मुख्यमन्त्रीले केही समय त्यत्तिकै छाडिदिनुभएको हो।’
नेकपाका प्रमुख सचेतक कुसुम बुढाले केन्द्रमा भएको सहमति अनुसार एमालेले सरकार छाडिहाल्नु पर्नेमा आनाकानी गरेको बताइन्। ‘दुई अध्यक्षबिच सहमति भएपछि नैतिकता देखाएर एमालेले सरकार छाड्नुपर्थ्यो’,उनले भनिन्,‘नैतिकता बेचेर लम्पसार पर्नु त राम्रो भएन, नैतिकताको विषय भएकाले त्यसलाई अरूले भन्नुभन्दा पनि एमाले आफैले बुझ्नुपर्ने कुरा हो।’
एमालेले भने प्रदेश सरकार अस्थिर नबनोस् भनेर सरकारमा बसिरहनु परेको बताएको छ। आफूहरूले अहिले नै सरकार छाड्दा सत्ताको साँचो राप्रपाकोमा पुग्ने र त्यसो भएमा कहिले कांग्रेस त कहिले एमाले–नेकपाको सरकार बन्न सक्ने विश्लेषण गर्दै उसले त्यस्तो स्थिति आउन नदिन पाण्डे नेतृत्वको सरकारमा बसिरहेको एमालेको जिकिर छ।
गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी निकट एक नेताले भने,‘सरकारमा बसे पनि, नबसे पनि सहमतिमै हुन्छ। यदि हामी बसेको मुख्यमन्त्रीलाई मन परेको छैन भने हामीलाई हटाउनै पर्दैन, हामी आफै छाड्छौँ भन्ने उहाँको प्रष्ट कुरा छ।’
एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने सरकारमा बस्ने वा छाड्ने विषय सहमतिमै हुने बताए। उनले भने,‘मुख्यमन्त्रीले कहाँ? कोसँग ? के भन्नुभयो हामीलाई थाहा भएन, अहिलेसम्म सहमतिमै सरकार चलिरहेकाले अब पनि सहमति अनुसार नै हुन्छ।’
प्रकाशित: ८ भाद्र २०८३ १८:५५ सोमबार





