राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (एमाले) ले बागमती प्रदेशमा आफ्ना सांसदहरू खरिद-बिक्री गरेको आरोप लगाएका छन्।
आइतबार राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तनपछि पनि एमालेको प्रवृत्ति नसच्चिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
नेपालको राजनीतिमा सांसद किनबेचको विकृति एमालेले नै भित्र्याएको दाबी गर्दै लिङ्देनले भने, ‘बागमती प्रदेशको कुरा तपाईंहरूले सुन्नुभएकै छ। यत्रो परिवर्तन र विद्रोहपछि पनि, यत्रो चाउरिसकेपछि पनि एमाले सुध्रिएको रहेनछ। फेरि त्यही काम गर्यो।’
एमालेको आलोचनासँगै उनले आफ्नै दलका सांसदहरूप्रति पनि चर्को असन्तुष्टि पोखे। पार्टीभित्रको कमजोरी औँल्याउँदै उनले भने, ‘आफ्नै थैलो राम्रो बाँध्न नसकेपछि अरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसीबाख्रा जस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’
कुनै पनि सांसद व्यक्तिगत हैसियतमा नभई पार्टीको नीति, टिकट र कार्यकर्ताको मतबाट निर्वाचित हुने स्मरण गराउँदै उनले अनुशासनविपरीत हिँड्ने छुट कसैलाई नभएको बताए।
‘पार्टीको नामबाट चुनाव जित्ने अनि आफूखुसी निर्णय गरेर पार्टीविपरीत अरू दलको ओछ्यान तताउन जाने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ उनले भने।
यस्ता विकृतिहरूको अन्त्यका लागि नेता-कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले गलत प्रवृत्तिका कारण जनताको विश्वास गुम्ने खतरा औंल्याए।
अध्यक्ष लिङ्देनले काठमाडौं जिल्ला नेतृत्व चयन सहमतिका आधारमा गर्न निर्देशन दिए। सुरुमा ५ जना आकांक्षी रहेकोमा अहिले ३ जना रहेको उल्लेख गर्दै उनले परिणाम थाहा पाउँदा-पाउँदै अनावश्यक प्रतिस्पर्धा गरेर कार्यकर्तालाई दुःख नदिन आग्रह गरे।
आफू अध्यक्ष वा पूर्वअध्यक्ष जे भए पनि पार्टीको निर्णायक स्थानमै रहने भएकाले कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित राख्ने जिम्मा नेतृत्वको हुने उनले बताए।
प्रकाशित: २८ भाद्र २०८३ १९:१२ आइतबार





