१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले आँधी, हुरी, तुफान र बाढी पार गरेर यहाँसम्म आइपुगेको हो: केपी ओली

लोकप्रियतावाद र प्रविधिको दुरुपयोगप्रति पोखरेलको चिन्ता

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई अझै पनि राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै एमाले आफ्नै बलमा चुनौती सामना गर्दै अघि बढ्ने बताएका छन्। सोही कार्यक्रममा महासचिव शंकर पोखरेलले समाजमा लोकप्रियतावाद, अवसरवाद र सूचना प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै त्यसले समाज र राजनीतिक प्रणालीलाई चुनौती दिएको बताए।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले एमाले धक्का खाए पनि समाप्त नभएको जिकिर गरे। उनले पार्टी आफ्नै बलमा पुनः नवीकृत हुँदै अघि बढ्ने उल्लेख गर्दै एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्था नरहेको बताए।

‘हामीलाई एक्ल्याउने प्रयास निरन्तर भइरहेका छन्। तर एमाले स्वतन्त्र हैसियत भएको पार्टी हो। हामी आँधी, हुरी, तुफान र बाढीजस्ता चुनौती पार गर्दै यहाँसम्म आइपुगेका हौं र अब पनि आफ्नै बलमा अघि बढ्छौं,’ ओलीले भने।

उनले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने पार्टी एमाले नभएको उल्लेख गर्दै सबै चुनौती पराजित गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवाद हाबी हुँदै गएको तथा सूचना प्रविधिको दुरुपयोगमार्फत गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढेको बताए। कृत्रिम बौद्धिकता (एआई) र एल्गोरिदमको प्रयोगबाट गलत सूचनालाई स्थापित गर्ने प्रयास भइरहेको भन्दै उनले सही सूचना र सही विचार समाजमा प्रवाह गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे।

पोखरेलले नयाँ पुस्तालाई सही वैचारिक तथा राजनीतिक धारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै प्रविधिको सकारात्मक प्रयोगमार्फत पार्टीका नीति, विचार र दृष्टिकोण प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन एमालेले आफ्नो वेबसाइट र डिजिटल प्लेटफर्मलाई परिष्कृत गरेको जानकारी दिए।

उनले सूचना प्रविधिको विकासलाई अवसरका रूपमा उपयोग गर्दै समाजलाई सही दिशातर्फ डोर्‍याउन नयाँ शैली र माध्यम अपनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १ श्रावण २०८३ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App