नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार असफल भएको आरोप लगाउँदै उनीहरूको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सरकारले सुरक्षित राख्ने नाममा नागरिकलाई घरबारविहीन बनाएको र विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले सार्वजनिक गरेका पीडा अत्यन्त गम्भीर, हृदयविदारक र संवेदनशील रहेको बताएका छन्।
उनले एकातिर बस्ती खाली गराउने र अर्कोतर्फ सरकारले स्थापना गरेका होल्डिङ सेन्टरसमेत व्यवस्थित गर्न नसकी खाली गराउनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
"होल्डिङ सेन्टरमा आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनु अमानवीयताको पराकाष्ठा हो। सरकारले सुरक्षित भनेका होल्डिङ सेन्टर नै डुबानमा परेको समाचार आउनु झन् चिन्ताजनक विषय हो," पोखरेलले उल्लेख गरेका छन्।
उनले असुरक्षित तथा अनधिकृत क्षेत्रमा रहेका सुकुम्बासीलाई हटाउनुअघि उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकार त्यस जिम्मेवारीबाट चुकेको आरोप लगाए।
सुकुम्बासी बस्ती खाली गराउनुलाई मात्रै उपलब्धि ठान्नु उचित नहुने भन्दै उनले विस्थापित परिवारको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको बताए।
पोखरेलले सरकारले आफ्ना कमजोरी र त्रुटि सच्याउँदै विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको न्यायोचित व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।
उनले नागरिकलाई त्रास र सास्ती दिएर होइन, सुरक्षित आवास र बाँच्न पाउने मौलिक अधिकारको सम्मान गरेर मात्रै कानुनी राज्यको मर्यादा कायम रहन सक्ने धारणा व्यक्त गरेका छन्।
साथै, गणेश नेपालीको घटनाजस्तै अर्को अप्रिय घटना दोहोरिन नदिन सरकार समयमै संवेदनशील बन्नुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित: २७ असार २०८३ १८:४५ शनिबार





