नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन चलिरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको बन्दसत्रको आज दोस्रो दिन हो। बन्दसत्रलाई सञ्चालन गर्नका लागि अध्यक्षमण्डलको खाँचो हुने गर्छ। तर यस पटक एमालेले बन्दसत्र सञ्चालन गर्नका लागि अध्यक्षमण्डलको गठन गरेन।
पार्टी अध्यक्ष केपी शर्मा ओली आफैंले बन्दसत्रको सञ्चालन गरेका छन्। यो महाधिवेशनमा एमालेले नयाँ अभ्यासको सुरुवात गरेको एमाले नेतृ तथा केन्द्रीय सचिव पद्मा अर्यालले जानकारी दिइन्। पार्टीको ११औं महाधिवेशन प्रचार समितिको संयोजक समेत रहेकी अर्यालले अध्यक्षमण्डलको अवधारणालाई तोडेर सचिवालयका सदस्य र वरिष्ठ नेताहरू मञ्चमा रहेर पार्टी अध्यक्ष आफैंले बन्दसत्र सञ्चालन गरेको बताइन्।
यस्तै, विगतका महाधिवेशनमा अध्यक्षमण्डल गठन हुने गरेको पार्टी नेता भानुभक्त ढकालले बताए। उनले विगतमा त्यही पदाधिकारी र अन्य सदस्यलाई राखेर अध्यक्षमण्डल बनाइँदै आएकोमा यस पटक भने फरक किसिमले अगाडि बढेको बताए। नागरिकन्युजसँग कुरा गर्दै उनले भने, ‘अध्यक्षमण्डल बनाए पनि पार्टी अध्यक्षले कन्डक्ट गर्ने हो। अध्यक्षता पनि पार्टी अध्यक्षले नै गर्ने हो। अब पार्टी अध्यक्षको हैसियतले पनि त्यो काम गर्दा बिग्रिने कुरो भएन।’
यस कारण कामको सहजताका लागि यस पटक अध्यक्षमण्डल गठन नगरिएको जानकारी दिए।
उनी भन्छन्, ‘विगतमा बन्ने अध्यक्षमण्डलले सम्मेलन सम्पन्न गर्नका लागि बन्ने परम्परा थियो। पहिले अध्यक्षमण्डलले त्यो काम गर्थ्यो। चुनावहरू गर्ने काम गर्थ्यो र आयोजक कमिटी विघटन हुन्थे। निष्पक्ष होस् भन्ने थियो। तर अहिले निष्पक्ष निर्वाचन आयोग हुने भएकाले अध्यक्षमण्डल गठन नगरिएको हो।’
यसैगरी, पहिले उद्घाटनसत्र बनाएपछि केन्द्रीय कमिटी भंग गर्ने प्रचलन रहेको उनले बताए। ‘अघिल्लो महाधिवेशनदेखि हामीले के कुरा ल्यायौं भने केन्द्रीय कमिटी अझै पनि जीवितै छ। अब नयाँ कमिटी बनेर सपथ ग्रहण गरेपछि मात्र पहिलेको कमिटी विघटन हुन्छ भनेपछि दोहोरो तेहोरो जिम्मेवारी किन बनाइरहने भनेर हामी यस्तो व्यवस्था गरेका हौं,’ उनले नागरिकसँग भने।
हिजोदेखि सुरु भएको महाधिवेशनमा दुई हजार २६३ जना प्रतिनिधि सहभागी छन्।
प्रकाशित: २९ मंसिर २०८२ ११:४३ सोमबार





