नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सरेको छ।
निर्वाचन आयोगले प्राविधिक तयारी नपुगेको भन्दै मतदानको समय एक घण्टा पछाडि धकेलेको हो।
यसअघि साँझ ७ बजेदेखि मतदान सुरु गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरिएको थियो। तर, विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम र विवरण सेटिङ गर्ने काम अझै नसकिएकाले मतदान राति ८ बजेका लागि सारिएको निर्वाचन समिति स्रोतले जनाएको छ।
सुरुमा दिउँसो २ बजेका लागि तय भएको मतदान साँझ ७ बजेका लागि सारिएको थियो। अहिले फेरि एक घण्टा पछाडि सारिएको छ।
मतदान समय सरे पनि महाधिवेशन प्रतिनिधिहरू भने भृकुटीमण्डपस्थित मतदान स्थलमा लामबद्ध भइसकेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ भने विभिन्न पदका लागि ३ सयभन्दा बढी उम्मेदवार मैदानमा छन्।
प्रकाशित: १ पुस २०८२ १९:१४ मंगलबार





