ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको तेम्बाका आगलागी पीडितलाई नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीले ३ लाख ३६ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।
नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीको विशेष सक्रियतामा संकलित रकम शुक्रबार आगलागी पीडित परिवारलाई वितरण गरिएको नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष गजेन्द्र थलङले जानकारी दिए ।
एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य तथा मिक्वाखोला गाउँपालिका वडा नं ४ का इञ्चार्ज मिथुन साँवाका अनुसार आगलागी पीडित ६ घर परिवारलाई जनही नगद ५५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको छ ।
आगलागी पीडित राजकुमार साँवा, अनिल साँवा, इन्द्रकुमार साँवा, बिष्णु साँवा, पासाङफुटी शेर्पा र दोर्ची शेर्पालाई राहत रकम हस्तान्तरण गरिएको स्थानीय पदम साँवाले जानकारी दिएका छन् ।
यसअघि नेपाल कम्युनिष्ट पार्टीले २ लाख १९ हजार रुपैयाँ, नेपाली कांग्रेसले ६९ हजार रुपैयाँ, कोशी सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ३६ हजार रुपैयाँ राहत रकम वितरण गरेका छन् ।
यही मंसिर २ गते राति तेम्बा बजारमा भएको आगलागीले ४ घर जलेर खरानी भएको थियो भने त्यहाँ रहेका ६ घर परिवार विस्थापित भएका छन् ।
अलैंचीसहितका सामग्री जल्दा करिव १ करोड १९ लाख रुपैयाँ बराबर क्षति भएको विवरण संकलन भएको छ ।
प्रकाशित: १२ मंसिर २०८२ १८:२८ शुक्रबार





-600x400.jpg)