नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ। केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी - जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, श्रमिक, अपांगता तथा पिछडिएको समुदायबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको एमाले नेत्री तथा केन्द्रीय सचिव पद्मा अर्यालले जानकारी दिइन्।
अर्यालका अनुसार बन्दसत्रमा प्रस्तावित संरचनाअन्तर्गत केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। त्यसमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौ जना रहने व्यवस्था गरिएको छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित आठ वटा प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुने महाधिवेशन प्रचार समिति संयोजकसमेत रहेकी अर्यालले बताइन्। उनका अनुसार केन्द्रीय कमिटीमा प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुला, ३ जना महिला र १ जना युवा रहनेछन्। खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। त्यसअन्तर्गत ७१ जना खुला, ५२ जना महिला र २ जना युवा चयन हुनेछन्।
यस पटक महाधिवेशन अध्यक्ष मण्डल नबाईकन सञ्चालन गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले बन्दसत्र सञ्चालन गरेका छन्। महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्। यसमा करिब ३३ प्रतिशत अर्थात् ७०१ जना महिला प्रतिनिधि छन्।
महाधिवेशनमा उत्पीडन जातिहरुबाट दुई सय बढी प्रतिनिधि छन्। आरक्षणबाट १६५ जना आएको र अन्य विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गरेर ४० वर्षमुनिका युवा पनि यो महाधिवेशनमा सहभागी भएको अर्यालले सुनाइन्। ‘यो सहभागिता निकै सुन्दर र विविधायुक्त भएको हामीले ठानेका छौं’, उनले भनिन्।
बन्दसत्रमा भएका सबै गतिविधिलाई व्यवस्थित गर्न पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा माइन्युट कमिटी गठन गरिएको छ। त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा प्रस्ताव कमिटी गठन गरिएको छ।
समावेशी संरचनाअन्तर्गतका कोटा अन्तर्गत आदिवासी - जनजातिबाट केन्द्रीय कमिटीमा २५ जना समेटिनेछन्। जसमा खुला १५, महिला आठ र युवा दुई जना हुनेछन्। मधेसीबाट १९ जनामा खुला ११, महिला ६, युवा दुई जना रहनेछन्। दलितबाट १२ जना रहनेछन्। त्यसमा खुलाका लागि सात, महिलाका चार चार र युवाका लागि एउटा कोटा छुट्याइएका छन्। थारू समुदायबाट समेटिने आठ जनामा खुला पाँच र महिला तीन जना हुनेछन्।
यसैगरी मुस्लिम समुदायबाट पाँच जना हुनेछन्। त्यसमा खुला चार र महिला एक जना रहनेछन्। प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना रहनेछन्। श्रमिकबाट तीन जनामा खुला दुई र महिला एक जना चुनिने छन्।यसैगरी अपांगता भएका व्यक्तिबाट एक जना, पिछडिएको क्षेत्रबाट खुला एक र महिला एक गरी दुई जना रहनेछन्। सम्पर्क समन्वय कमिटीबाट पनि खुला एक र महिला एक गरी दुई जना केन्द्रीय कमिटीमा समेटिनेछन्।
प्रकाशित: २९ मंसिर २०८२ ०७:३१ सोमबार





