एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो ।
विधान महाधिवेशनको तयारीको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको भएपनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जानुपर्ने भएपछि केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो ।
भदौ १३ गतेको केन्द्रीय कमिटीको बैठक स्थगन भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘सुझावहरु आउने क्रम जारी रहेको र ती सुझावलाई एकत्रित गर्ने काम सम्पन्न नहुने भएकाले अर्को मिति घोषणा नहुँदासम्म केन्द्रीय कमिटीको बैठक स्थगत भएको छ’, प्रचार विभाग प्रमुख गौतमले नागरिकसँग भने ।
तर उनले प्रधानमन्त्रीको चीन भ्रमणको कारण केन्द्रीय कमिटीको बैठक स्थगित भएको भन्ने चाहिँ नभएको बताए ।
‘होइन त्यो होइन, डकुमेण्टेशनको काम सकिएको छैन’, प्रचार विभाग प्रमुख गौतमले भने ।
एमालेको विधान महाअधिवेशनको तीब्र तयारी भैरहेको छ । भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हुनेछ । त्यसअघि एमालेको सबै तहको बैठक बसिसक्नु पर्ने भएकाले १३ गतेलाई केन्द्रीय कमिटीको बैठक तय भएको थियो ।
तर सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा चीनमा हुने बैठकमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई चीन सरकारका तर्फबाट निम्तो आइसकेको र त्यसमा भाग लिन भदौ १४ गते त्यसतर्फ जाने कार्यतालिका छ ।
प्रकाशित: १० भाद्र २०८२ १४:५५ मंगलबार





