नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रहरीले लगाएको सुरक्षा घेरा तोडेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार दिउँसो सडकमा उत्रिएका उनीहरू प्रहरीको अवरोध पन्छाउँदै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरतर्फ अघि बढेका छन्।
माइतीघरमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच केही बेर तनाव र धकेलाधकेल भएको छ।
प्रहरीले बाटो रोक्न राखेको ब्यारिकेडलाई छिचोल्दै आक्रोशित कार्यकर्ताहरूको भीड नाराबाजीसहित प्रहरी परिसरतर्फ अघि बढेको हो।
शनिबार बिहान भक्तपुरको गुण्डुबाट पक्राउ परेका अध्यक्ष ओलीलाई सुरुमा भद्रकालीस्थित यही प्रहरी परिसरमा ल्याइएको थियो।
एमालेले आफ्ना अध्यक्षको पक्राउलाई पूर्णतः गैरकानुनी र राजनीतिक पूर्वाग्रहपूर्ण कदम ठहर गर्दै सडक आन्दोलनको घोषणा गरिसकेको छ।
अहिले माइतीघरदेखि भद्रकालीसम्मको सडक खण्डमा प्रदर्शनकारीको बाक्लो उपस्थिति छ। सम्भावित झडपलाई मध्यनजर गर्दै सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रकाशित: १४ चैत्र २०८२ १५:३२ शनिबार



-600x400.jpg)

