संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तार र पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन्।
बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलङ्काका पर्यटनसम्बन्धी अधिकारी तथा भारतकी राज्यसभा सदस्य सुधा मूर्तिसँग छलफल गरेका हुन्।
भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि, सांस्कृतिक आदानप्रदान र पर्यटन क्षेत्रमा लगानीका अवसरबारे छलफल भएको छ।
मेलामा नेपालले दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको छ। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारीलाई समेत अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरिएको छ।
मन्त्री पौडेलको नेतृत्वमा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिसहितको नेपाली टोली मेलामा सहभागी छ। मेलामा ३२ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटकीय गन्तव्य, सेवा र उत्पादनको प्रवर्द्धन गरिरहेका छन्।
प्रकाशित: १८ कार्तिक २०८३ ११:२२ बुधबार





