५ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सभामुख अर्यालसँग युएईका राजदूतको भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–युएईबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकतासहित विभिन्न विषयमा छलफल भएको छ।

भेटमा सभामुख अर्यालले युएई नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन आग्रह गरेका छन्।

सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा काम अघि बढाएको जानकारी दिएका छन्। साथै नेपाल लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै युएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरेका छन्।

उनले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालनका लागि स्वीकृति प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावनाबारे पनि विचार गर्न आग्रह गरेका छन्।

सभामुख अर्यालले प्रतिनिधिसभाको हालैको निर्णयअनुसार संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै यसले दुवै मुलुकका संसदबीच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

भेटका क्रममा राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन युएई सरकार सकारात्मक रहेको बताएका छन्। उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरको खोजी गरिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ४ असार २०८३ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App