वाग्मती प्रदेशको सातौँ मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । १०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि दुईपटकसम्म प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका थापा वाग्मतीको सातौँ मुख्यमन्त्री बनेका छन् ।
बागमती प्रदेशमा प्रदेश स्थापनायता सत्ता समीकरण फेरिने क्रम रोकिएको छैन। केन्द्रको राजनीतिक समीकरण बदलिँदा प्रदेश सरकार पनि पटकपटक फेरिने क्रम जारी छ। अहिलेसम्म बागमती प्रदेशले सातौँ मख्यमन्त्री पाएको हो ।
२०७४ फागुन २९ गते पहिलो मुख्यमन्त्रीमा एमालेका डोरमणि पौडेल नियुक्त भएका थिए। पौडेल ४१ महिनापछि पार्टीको आन्तरिक कारण सत्ताबाट बाहिरिए। एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी (नेकपा एस) गठन भएपछि प्रदेशसभामा बहुमत गुमाउँदा डोरमणि पौडेलले राजीनामा दिएका थिए।
२०७८ भदौमा एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरियो। पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै भदौ २ गते एमालेकै नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भइन्। उनले निकै छोटो समय कात्तिक ११ गतेसम्म मात्र प्रदेश समालिन्।
एमाले विभाजनपछि प्रदेशसभामा स्पष्ट बहुमत जुटाउन नसकेपछि उनले विश्वासको मत पाउन सकिनन् र कार्तिक ११ मा राजीनामा दिइन्। एमाले विभाजित भएपछि १२ सांसदले नेकपा एस रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्।
त्यसपछि केन्द्रको सत्ता समीकरण बदलिँदा बागमतीमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको भागमा मुख्यमन्त्री पर्यो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको समर्थनमा नेकपा एसका नेता राजेन्द्रप्रसाद पाण्डे कार्तिक २ गते नै बागमती प्रदेशका तेस्रो मुख्यमन्त्री बन्न पुगे।
२०७४–२०७९ सालको पहिलो प्रदेशसभा कार्यकालमा सरकार परिवर्तनको प्रमुख कारण एमाले विभाजन थियो। २०७९ सालको निर्वाचनपछि जनताको नयाँ जनमतका आधारमा सत्ता समीकरण अगाडि बढ्यो। एकल बहुमत कसैको पनि नभएपछि संघीय सरकारको समीकरणअनुसार माओवादी केन्द्र, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको तत्कालीन वाम गठबन्धनमा सरकार बन्यो। बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल २०७९ पुस २६ गते पहिलोपटक मुख्यमन्त्री बने।
बागमती प्रदेशसभामा जम्कट्टेलले ७० सभासद्को समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गर्दा उनलाई कांग्रेससहित माओवादी केन्द्र, एमाले, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीका १०५ सभासद्को समर्थन थियो।
बागमती प्रदेशसभामा ११० सांसद छन्। असाधारण विश्वासको मतका साथ मुख्यमन्त्री बनेका जमरकट्टेलले दुई महिनापछि दोस्रोपटक विश्वासको मत लिनुपर्यो। २०७९ फागुन १३ गते राप्रपाले सरकारलाई दिएको १३ सभासद्को समर्थन र २०७९ चैत्र १० गते एमालेले सरकारलाई दिएको २७ सभासद्को समर्थन फिर्ता लिएपछि जमकट्टेलले दोस्रो पटक चैत १० गते विश्वासको मत लिनुपरेको थियो।
दोस्रो पटक विश्वासको मत प्रस्तावमा जमकट्टेलले सदनमा उपस्थित ९१ सभासद्मध्ये ६७ सभासदको समर्थन प्राप्त गर्दै सरकारलाई निरन्तरता दिएका थिए। उनको प्रस्तावलाई कांग्रेससहित माओवादी केन्द्र, नेकपा एस, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन थियो। पछि २०८१ असारमा केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि उनी बहुमत गुमाएर पदबाट बाहिरिए।
जम्कट्टेल बाहिरिएपछि बागमतीमा कांग्रेस र एमालेको समर्थनमा कांग्रेसका बहादुरसिंह लामा २०८१ साउन ९ मा मुख्यमन्त्री बने। तर २०८२ साउन २० गते कांग्रेसभित्रै संसदीय दलको नेतृत्व परिवर्तन भएपछि उनी पनि पदबाट हटे। कांग्रेसभित्रको संसदीय दलको नेताको निर्वाचनमा मत गुमाएपछि उनी मुख्यमन्त्रीपदबाट हट्न परेको थियो। उनका क्याबिनेटका पाँच मन्त्रीले नै उनको विपक्षमा उभिएपछि पार्टीभित्र लामा अल्पमतमा परे।
त्यसलगत्तै कांग्रेसको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भए। उनी साउन २० गते एमाले र कांग्रेसका ६४ सांसदको समर्थन लिएर मुख्यमन्त्री बनेका थिए । अहिले पनि पार्टीभित्रको केन्द्रको निर्णयअनुसार एमाले र कांग्रेसको सत्ता समीकरण परिर्वतन हुँदा एमालेका किरण थापा सातौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।
प्रकाशित: ४ भाद्र २०८३ १६:३८ बिहीबार





