नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई निसाना बनाएर सबै संवैधानिक निकायहरू कब्जा गर्ने डिजाइन बुनिरहेको आरोप लगाएका छन्।
बुधबार साँझ नख्खु कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त कदम लोकतन्त्र र संविधानमाथिकै प्रहार भएको बताए।
उपसभामुख प्रकरणबारे संचारकर्मीले सोधेको प्रश्नमा दाहालले भने, ‘इन्दिराजीप्रति गर्न खोजेको व्यवहार इन्दिरामाथिको होइन, यो संविधान, लोकतन्त्र र यो सिस्टममाथिको प्रहार हो। उहाँहरू इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको भन्ने कुरा प्रस्टै देखिन्छ।’
उनले गठबन्धन सरकार निरंकुशतातिर गएको र उपसभामुखमाथि ठूलो अन्याय भएको टिप्पणी गरे।
प्रतिपक्षको बैठकमा आफूले भनेको कुरा स्मरण गर्दै दाहाल भने, ‘बिचरा ती इन्दिरा राना, एक आदिवासी जनजाति महिला, सामाजिक सेवामा समर्पित भएर राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको महिला... सानो प्राविधिक विषयलाई लिएर उनीमाथि जे गरिएको छ, त्यो बिल्कुल गलत भएको छ भनेर मैले हिजै भनेको थिएँ।’
उनले उपसभामुखलाई हटाउने विषयमा विपक्षी दलहरुको बैठकमा समेत छलफल भएको र आफूले त्यसको कडा प्रतिवाद गरेको सुनाए।
सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न पुगेका दाहालले भेटमा उपसभामुखबारे पनि कुराकानी भएको जानकारी दिए।
प्रकाशित: ४ भाद्र २०८२ १८:४९ बुधबार





