ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेकाे शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात भएकाे जनाएकाे छ।
ट्रान्सपरेन्सीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो प्रशंसा गरेको हो। उसले जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिब दुई तिहाई बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र माग अनुरुप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गर्दै प्रशंसा गरेकाे छ।
पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समयसीमासहितको बृहत कार्यसूची पारित गर्नुले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको जारी विज्ञप्तिमा उल्लेख छ।
बृहत कार्यसूचीमा उल्लेखित कार्यहरूको कार्यान्वयनको सुरुवात भइसक्नु सराहनीय भएको र तोकिएको समयसीमाभित्र सबै कार्यहरू सम्पन्न हुने छन् भन्नेमा आशा र विश्वाश लिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ। साथै सुशासन प्रवर्द्धनको कार्यमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन ट्रान्सपरेन्सी प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १६:२१ मंगलबार





