राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सभापति रवि लामिछानेको रिहाइको आदेशले न्यायको ढोका खुलेको बताएकी छिन्।
बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्।
कार्कीले अनुसन्धानमा सघाउँछु र धरौटी तिर्छु भन्दाभन्दै पनि लोकप्रिय नेतालाई छुट्न महिनौँ लागेको भन्दै देशको न्याय प्रणालीको ढिलासुस्तीप्रति प्रश्न गरिन्।
‘दुई–दुई पटक भारी मतले जनताले रुचाएको मान्छेलाई त छुट्न महिनौँ लाग्दो रहेछ भने अरु सामान्य नागरिकहरू मुद्दा मामिलामा कति वर्षदेखि अल्झिरहेका होलान् ?’ उनले प्रश्न गरिन्।
उनले धरौटीमा छुट्ने सामान्य अधिकारको विषयलाई पनि देशले उत्सवजस्तो मनाउनुपर्ने अवस्थाले देशको न्याय प्रणाली कति क्रुर र ढिलासुस्त छ भन्ने चित्रण गरेको सुनाइन्। उनले लेखेकी छिन्, ‘त्यसैले भन्दा रहेछन्– दुश्मनलाई पनि बरु दिन लागोस्, मुद्दा नलागोस्।’
लामिछानेको रिहाइसँगै पार्टीमा नयाँ ऊर्जा र आशा थपिएको कार्कीले बताएकी छिन्। उनले अब रवि लामिछानेको प्रत्यक्ष नेतृत्वमा वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्दै रास्वपा मूलधारको निर्णायक शक्ति बन्ने दाबी गरिन्।
‘अब रविजीको रिहाइसँगै रास्वपा भित्र–बाहिर सबैतिर नयाँ शक्तिहरू एकीकृत हुनेछन्,’ कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले विजयी हुनेछ र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगमा आवश्यक सुधार गर्दै भ्रष्टाचारमुक्त सरकार निर्माण गर्नेछ।’
उनले ४० लाख हस्ताक्षरले रविमाथि अन्याय भएको बोलिसकेको जिकिर गर्दै अदालतको आदेशले रविको धैर्यता र निडरतासामु न्यायको कठोर ढोका कमलो बन्न बाध्य भएको टिप्पणी समेत गरिन्।
प्रकाशित: ३ पुस २०८२ २१:१७ बिहीबार





