राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुखद भएको भन्दै सरकारले तत्काल उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत कार्कीले सरकारले डा. केसीलाई अनसन बस्नुपर्ने अवस्था आउन नदिनुपर्ने बताइन्। उनले सरकारले डा. केसीसँग प्रत्यक्ष संवाद गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विषयमा उनका सुझावलाई कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरिन्।
कार्कीले आफूले शिक्षामन्त्री तथा प्रधानमन्त्रीको सचिवालयको समेत ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै आन्दोलन चर्किएपछि मात्र माग सम्बोधन गर्ने पुरानो प्रवृत्ति दोहोरिन नहुने बताइन्।
डा. केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विरोध नगरेको स्पष्ट पार्दै कार्कीले उनको वास्तविक माग सुदूरपश्चिममा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्न र एमबीबीएस कार्यक्रम शीघ्र सुरु गर्नुपर्ने रहेको उल्लेख गरिन्। डा. केसीले विश्वविद्यालयको विरोध गरेको भन्ने भ्रम फैलाइएको उनको भनाइ छ।
उनले डा. केसीको सत्याग्रहकै कारण गेटामा ठूलो अस्पताल र चिकित्सा शिक्षाको पूर्वाधार निर्माण सम्भव भएको दाबी गर्दै विगतका सरकारहरूले चिकित्सा शिक्षा ऐन कार्यान्वयन र अस्पताल सञ्चालनमा ढिलाइ गरेको आरोप लगाइन्। ६०० शय्याको संरचना तयार भइसके पनि हालसम्म ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति समेत नपाएको अवस्थाप्रति उनले असन्तुष्टि जनाइन्।
यस्तो छ उनको स्टाटस:
अन्सन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो - आएछ, सर अन्सन बस्नुभयो। अब हाम्रो सरकारले तत्कालै डा केसीका जायज मागहरु सम्बोधन गरोस् र भनोस् " सर तपाई जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईकै हो, तपाई सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाब दिन सक्नुहुन्छ। विगतका सरकारमा तपाईले पटक पटक शोषक र शाषक देख्नुभयोहोला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको सुन्छ, तपाई जस्तो निस्वार्थी विज्ञको पनि सुन्छ। भयो सर, अनसन छोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईका जायज मागहरुमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। अघिल्ला सरकारले तपाईसँग सम्झौता गरेका मागहरु पनि हामी पुरा गर्नेछौँ।" उहाँका जायज मागहरु तत्काल सम्बोधन गर्न शिक्षामन्त्री स्वयम् तथा प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराईसकेको छु।ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछी त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्नहुन्न !!
** नोट-- डा. केसीले पटक पटक भनिरहनुभएको छ --"मैले गेटामा दशरथ चन्द विश्वविद्यालयको विरोध गरेको होईन।सुदुरपश्चिमको गेटामा ३०० सैय्या अस्पताल चाहियो, MBBS चाँडै सुरु गर्नुपर्यो भन्ने नै म हुँ। मैले विश्वविद्यालयको विरोध गरेको भन्ने भ्रम फैलाईएको छ।" उहाँको मागलाई समर्थन गर्नु नगर्नु आ-आफ्ना धारणा होलान् तर मागहरुलाई र विगतका उपलब्धिहरुलाई नै तोडमोड गरीनु भनेको एक सत्याग्रहिको त्याग र संघर्षमाथीको अपमान हो। त्यसो नगरौ। उहाँको योगदान नभुलौँ। भ्रममा नपरौँ। सुदुरपश्चिममा तत्कालै विशिष्ट सेवासहितको अस्पताल बनाउनुपर्यो र चिकित्सा शिक्षा पनि सुरु गर्नुपर्यो भनेर पटक पटक अनसन बसेर विगतका सरकारलाई त्यहाँ ७५ विगामा त्यत्रो संरचना, भवन, र सेवा दिने व्यवस्था गर्न वाध्य बनाउनुभएको पनि डा. गोबिन्द केसीको सत्याग्रहले नै हो।नत्र त चिकित्सा शिक्षा ऐनको कति पटक धज्जी उडाउन खोजीयो भन्ने कुराको साक्षि तपाई हामीनै छौँ।
३०० त के १०० सैय्या अस्पतालको पनि दरबन्दी स्विकृती दिन पनि वर्षौँ लगाईयो, म आफैँले कति पटक विगतका सरकारलाई यहि विषयमा झकझकाएको थिएँ। विडम्बना, ६०० सैय्याको लागी बनिसकेको त्यो संरचनाले आजसम्म ३०० सैय्या अस्पतालको समेत स्वकृति पाएको छैन। कैले मेडिकल कलेज, कैले प्रतिष्ठान, कैले विश्वविद्यालय भन्दै प्रकृया लम्बाईरह्यो। यता सुदुरपश्चिमले भने वर्षौँ सम्म सेवा विनाका ति ठूला ठूला भवनमा कैले असप्ताल सुरु होला भनि कुर्दै बस्नुपर्ने वाध्यता बनाईयो, जबकी त्यहाँ ३०० सैय्याको अस्पताल सुरु गर्न विगतका सरकारलाई केहिले रोकेकै थिएन। हो विगतका सरकारले गरेको जस्तो अलमल र ढिलाई अब नहोस् भन्न खोजेका हुन् डा.के सीले।
म स्वयम् ले पनि अघिल्लो कार्यकालमा गेटामा तत्काल ३०० सैय्या अस्पताल सुरु गर्नुपर्यो र विधेयक पनि यथासिघ्र टुङ्गो लाउन पर्यो भनेर पटक पटक संसदमा र संसदिय समितीमा बोलेको थिएँ साथै विधेयकका छलफलहरुमा सक्रिय भुमिका निभाएको थिएँ। केही सम्बोधन भए, केही भएनन् तर खुसीको कुरा हो, अन्तत: गेटामा बन्दै गरेको संरचना अब सुदुरपश्चिमको मात्र होईन चिकित्सा शिक्षासँग मात्र डेडिकेटेट देशकै एक मात्र विश्वविद्यालयको रुपमा शहिद दशरथ चन्द विश्वविद्यालय अघि बढाईएको छ, यो स्वागतयोग्य उपलब्धि हो। यो उपलब्धिलाई गुम्न दिन हुन्न।
रह्यो कुरा डा. के सीलाई मेरो समर्थनको -- नेपाली जनताको हित केन्द्रीत अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि आदर्णिय प्रा डा.गोबिन्द केसी सँग सधैँ थिएँ, छु, रहनेछु।
प्रकाशित: ८ श्रावण २०८३ १०:४८ शुक्रबार





