२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

‘आज प्रतिपक्षमा छौं, भोलि सरकारमा आउँछौं, तर विधिको शासनमा सम्झौता हुँदैन’

नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी भविष्यमा सरकार सञ्चालन गर्ने जिम्मेवारीमा आउने बताउँदै वर्तमान सरकारलाई विधिको शासन नमिच्न चेतावनी दिएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै सत्ता सम्हाल्ने तयारीमा रहेको बताएका हुन्।

सम्बोधनका क्रममा थापाले सत्ताको अंकगणित परिवर्तन भइरहने उल्लेख गर्दै आजको सरकारले चाल्ने गैरकानुनी कदमको जवाफ भोलि दिनुपर्ने स्मरण गराए।

‘आज हामी प्रतिपक्षमा छौँ, भोलि हामी सरकारमा आउँछौं,’ उनले भने, ‘तर आज गरिएका समझदारी र विधिको शासन विपरीतका कामहरूलाई भोलि कसैले पनि न्यायोचित ठहर्‍याउन सक्ने छैन। सरकारले कानुनलाई आफ्नो निहित स्वार्थ पूरा गर्ने हतियार (रुल बाई ल) बनाउनु हुँदैन।’

सभापति थापाले लोकतन्त्रमा कानुनको उचित प्रक्रिया (ड्यू प्रोसेस अफ ल) को पालना अनिवार्य हुनुपर्नेमा जोड दिए। जहाँ विधिको शासनको उल्लङ्घन हुन्छ, त्यहाँ नेपाली कांग्रेस एक ढिक्का भएर दृढताका साथ उभिने उनको उद्घोष थियो।

उनले सरकारले बहुमतको दम्भमा कानुनलाई निजी स्वार्थका लागि प्रयोग गर्न खोजेको आरोप समेत लगाए। कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै थापाले सरकारलाई अनावश्यक अवरोध नगर्ने तर गलत नीतिमा मौन नबस्ने प्रष्ट पारे।

‘हामी यहाँ सरकारलाई डिस्टर्ब गर्न मात्र बसेका होइनौँ, हामी मुलुकमा वास्तविक परिवर्तन हेर्न चाहन्छौँ,’ उनले भने, ‘सरकारले ल्याएका राम्रा नीतिलाई समर्थन गर्छौं, तर आधारभूत प्रश्न र जनसरोकारका विषयमा हाम्रो खबरदारी जारी रहन्छ।’

थापाले नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने क्रममा रहेको चुनौतीपूर्ण समयमा सरकारले आर्थिक रूपान्तरणका लागि ठोस पहल गर्नुपर्ने बताए। सरकारले लोकप्रिय हुनका लागि मात्र बजेटका अङ्कहरू बढाएको र कार्यान्वयन हुन नसकेपछि अरूलाई दोष दिने रणनीति अख्तियार गरेको उनको दाबी छ।

१५ र ४८ सालको जस्तै जनसमर्थन र अनुकूलता पाएको वर्तमान सरकारले मुलुकलाई ‘बिग हिट’ र ‘बिग पुस’ दिने अवसर गुमाउन लागेकोमा थापाले चिन्ता व्यक्त गरे। उनले वैदेशिक ऋणको उत्पादकत्व र आर्थिक कूटनीतिमा सरकार गम्भीर नभएको भन्दै सत्तापक्षलाई आफ्ना कार्यशैली सुधार्न आग्रह गरे।

प्रकाशित: ३१ जेष्ठ २०८३ १८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App