२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पत्रकार सम्मेलन गरेर विद्यादेवी भण्डारीले भनेका तीन कुरा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) नेकपा (एमाले) पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन आयोजना गरिन्। सक्रिय पार्टी राजनीतिमा फर्किसकेको अवस्थामा पार्टीले खडा गरिरहेको अवरोधलाई चिर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरेकी भण्डारीले मुख्यत: तीन कुरा भनिन्।

विगतमा एमाले उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले गत असार १४ गते स्व. पति मदन भण्डारीलाई साक्षी राखेर सक्रिय राजनीतिमा फर्किने घोषणा गरिन् तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित उनका निकटस्थ नेताहरूले त्यसलाई राम्रो मानेनन् र विधानमार्फत नै उनलाई रोक्न लागिपरे। 

यतिसम्म कि एमालेले भण्डारीको सदस्यता नवीकरण नभइसकेको जनाएको छ। जबकि, यसअघि एमाले महासचिव शंकर पोखरेलले नै भण्डारीको सदस्यता नवीकरण भइसकेको बताएका थिए। यसबीचमा उनको सदस्यता रातारात हटाइएको पनि चर्चा छँदैछ। एमालेले भण्डारीको सदस्यताको सम्बन्धमा उचित समयमा उचित निर्णय लिने जनाएको छ। उता दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने र ७० वर्षपछि अध्यक्षको उम्मेदवार बन्न नपाउने विधानको प्रावधान पनि हटाइएको छ। यो प्रावधान मूलत: भण्डारी रोक्नकै लागि गरिएको विश्लेषणहरू हुँदै आएका छन्।

अहिले भण्डारीले मुख्यत: सदस्यताकै विषयमा रोष पोख्ने गरेकी छन्। आजको पत्रकार सम्मेलनमा पनि उनी यही वरिपरि घुमिइन्। जहाँ उनले खासगरी तीनवटा सन्देश दिएकी छन्।

पहिलो: सदस्यता नवीकरण भइसक्यो

भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको दाबी गरेकी छन्। त्यो अहिले भइरहेको जस्तो विवाद उठ्नुपर्ने विषय नै नरहेको उनले जोड गरेकी छन्।

‘मैले पार्टी अध्यक्षसँग पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन,’ उनले भनेकी छन्।

भण्डारीले आफ्नो सदस्यता कसैले खोस्न नसक्ने पनि बताएकी छन्। कसैले चाहँदैमा आफूले सदस्यता गुमाउन नपर्ने उनले बताएकी छन्। उनले भनेकी छन्, ‘कसैले लागेर मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन,’उनले भनेकी छन्। आफूले पार्टी सदस्यता लिएको ४५ वर्ष भइसकेको भण्डारीको भनाइ छ। राष्ट्रपति हुनुपूर्व नै ३५ वर्ष पार्टी काममा बिताइसकेको उल्लेख गर्दै उनले आफू अहिले पनि एमाले नै रहेको बताएकी छन्।

विद्यादेवी भण्डारी।

दोस्रो: पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु आश्चर्य होइन

भण्डारीले आफ्नो राजनीतिक पुनरागमनलाई ठूलो रूपमा लिन नहुने बताएकी छन्। आफू राष्ट्रपति पनि राजनीतिक पृष्ठभूमिबाटै बनेको उनको भनाइ छ। राष्ट्रपति पनि राजनीतिक व्यक्ति नै हुने हुनाले आफू राजनीतिमा फर्किएको विषयलाई आश्चर्यजनक रूपमा नलिन उनले आग्रह गरेकी छन्। 

‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ,’ उनले भनेकी छन्।

उनले आफूसँग कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति नरहेको पनि दाबी गरेकी छन्। उनले कारण खुलाएकी छन्, ‘किनकि,मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु।’

तेस्रो: पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुहुँदैन भन्ने संवैधानिक अड्चन छैन

भण्डारीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुहुँदैन भन्ने संवैधानिक अड्चन कहीँ नभएको पनि बताएकी छन्। बरु संविधानले दलमा आबद्ध हुन पाउने नागरिकको मौलिक हक प्रत्याभूत गरेको उनले स्मरण गराएकी छन्। 'नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन,’ उनल भनेकी छन्।

उनले आफूलाई कसैले पनि पार्टी सदस्यबाट वञ्चित गर्न नसक्ने पनि बताएकी छन्। ‘जनताको बुहदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात् गरेको सन्दर्भमा त्यही सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन,’ उनले भनेकी छन्।

प्रकाशित: ९ श्रावण २०८२ २१:४९ शुक्रबार