राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन् ।
पार्टीका पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे जिल्ला भ्रमणमा जान लागेका हुन् । कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण झापामा पुगेर टुङ्गिनेछ ।
भ्रमणको कार्यतालिकाअनुसार नेताहरूले पर्सापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापासम्मका जिल्लामा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्नेछन् ।
नेता थापाले भ्रमणको तालिका सार्वजनिक गर्दै पार्टी सङ्गठन सुदृढीकरण, आसन्न स्थानीय निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे पार्टी पङ्क्तिसँग बृहत् अन्तर्क्रिया गर्न जिल्ला भ्रमण गर्न लागिएको बताएका छन् ।
उनले सम्बन्धित जिल्लाका पार्टी नेता तथा कार्यकर्तालाई छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।
राप्रपाको महाधिवेशन आगामी मङ्सिरमा गर्ने तय भएको छ । महाधिवेशनअघि हुन लागेको यो भ्रमणलाई पार्टी सङ्गठनको अवस्था बुझ्ने र आगामी राजनीतिक गतिविधिबारे नेता–कार्यकर्तासँग छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।
प्रकाशित: ९ कार्तिक २०८३ २०:१० सोमबार





