सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति दु:ख व्यक्त गरेको छ।
साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ। ‘रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,' रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले स्तब्ध र मर्माहत बनाएको रास्वपाले बताएको छ।
यस्तै, दुर्घटनाको तीन दिनपछि विज्ञप्ति जारी गरेर रास्वपाले सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता समेत उसले जनाएको छ।
'आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट छौं।'
प्रकाशित: १९ वैशाख २०८३ १०:५० शनिबार





