४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

यस्तो छ कुलमान, बालेन र रास्वपाबिचको ७ बुँदे सहमति: कुलमान उपसभापति, चुनाव चिह्न ‘घण्टी’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको छ।

सोमबार राति सम्पन्न वार्तामा तीन पक्षबिच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यी शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिनेछन्।

सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने काठमाडौं महानगरका मेयर बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार पार्टी एकीकरणपश्चात् रवि लामिछाने नै केन्द्रीय सभापति रहनेछन्। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बन्नेछन्। घिसिङसँगै डीपी अर्याल र स्वर्णिम वाग्ले पनि उपसभापति रहने सहमति भएको छ।

तीन पक्षले २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्। सहमति पत्रको पहिलो बुँदामै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने उल्लेख छ।

यस्ता छन् सहमतिका ७ बुँदाहरू:

१. नवयुवाहरू (जेन-जी) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने।

२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणालीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने।

३. पहिलो पक्ष (रास्वपा) र दोस्रो पक्ष (उज्यालो नेपाल) बिच एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झन्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बिचमा निलो रङको घण्टीको आकृति र दलको चुनाव चिह्न ‘घण्टी’ नै रहने। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने।

५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरूसँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने।

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।

प्रकाशित: १४ पुस २०८२ २१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App