मधेस प्रदेशको चौथो मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश सांसद जितेन्द्र सोनार (सोनल) नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
सोनल मुख्यमन्त्रीमा नियुक्त भएपछि मधेसी दलका नेता कार्यकर्तासहित मधेसका युवाले खुसियाली मनाएका छन्। मुख्यमन्त्रीमा सोनलको नियुक्तिबाट मधेसी भावनाको जित भएको युवाले बताएका छन्।
सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गर्न जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोसपा नेपाल, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए। जसपा नेपालका १९, माओवादी केन्द्रका ९, लोसपा नेपालका ९, नेकपा एकीकृत समाजवादीका ७ र जनमत पार्टीका १३ सांसद छन्। दाबीपत्रमा हस्ताक्षर नगरे पनि सोनललाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि समर्थन गरेको छ । जनमतका दुई सांसद सतिशकुमार सिंह र त्रिभुवन साह भने बुधबार नै सो पार्टी त्यागेर जनस्वराज पार्टीमा प्रवेश गररेका छन्। सिंह सोनलअघिका मुख्यमन्त्री हुन्।
पाँच दलले मुख्यमन्त्रीमा सोनललाई बनाउन दाबी पेस गरेपछि नेपाली कांग्रेस र एमालेले पनि जनमत पार्टीको समर्थन आफूहरुसँग रहेको भन्दै प्रदेश प्रमुखसमक्ष कांग्रेसका कृष्णप्रसाद (कृष्णा) यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए। कांग्रेस र एमालेले सो दावी पेस गरेपछि जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले पार्टीको समर्थन लोसपाका सोनललाई भएको प्रस्ट पारेका थिए। त्यसपछि प्रदेश प्रमुखको कार्यालयले जनमत पार्टीको आधिकारिक समर्थन सोनललाई रोहेको विज्ञप्ति जारी गरेको थियो।
जनमत पार्टीका सांसद एवं पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह सो पार्टी त्यागेर नवगठित जनस्वराज पार्टीमा प्रवेश गरेका छन्। निर्वाचन आयोगको प्रादेशिक कार्यालय जनकपुरधाम पुगेर दुवैजनाले हस्ताक्षर सनाखत गरेका छन्।
यसरी भत्काइयो कांग्रेस–एमाले–जनमत सहमति
कांग्रेस, एमाले र जनमत पार्टीका ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै नयाँ सरकार गठनका लागि असोज २२ गते प्रदेश प्रमुखसमक्ष दाबी पेस भएपछि मधेसको राजनीतिमा तरंग उत्पन्न भयो। कारण थियो– प्रदेश गठन भएपछि मधेसमा पहिलो पटक मधेसी दलबाहेकका सांसद मुख्यमन्त्री प्रस्तावित हुनु।
२०७४ सालको निर्वाचनपछि गठन भएको मधेस प्रदेश (तत्कालीन प्रदेश २) को पहिलो मुख्यमन्त्री संघीय समाजवादी पार्टीबाट लालबाबु राउत गद्दी बनेका थिए। दोस्रो मुख्यमन्त्री सरोज यादव र तेस्रो मुख्यमन्त्री जनमत पार्टीका सतिशकुमार सिंह बनेका थिए। तीन मुख्यमन्त्री मधेसकेन्द्रित दलकै हुन्। असोज २२ गते जब नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बनाउने गरी एमाले, कांग्रेस र जनमत पार्टीको दाबी पेस भयो, त्यो बेलादेखि यो समीकरणबाट जनमतलाई अलग्याउने कसरत तीव्र बनेको थियो। समीकरण भत्काउन मुख्य भूमिका खेल्यो ‘मधेस सेन्टिमेन्ट’ले। मधेस सरकारमा मधेसी दलबाहेकको नेतृत्व भयो भने मधेस आन्दोलनको मर्म र भावनामाथि प्रहार हुन्छ भन्दै मधेसकेन्द्रित दलबिच सरकारमा सहकार्यको कसरत सुरु गरियो। मधेसको भावनासँग जोडिरहन जनमतमा दबाव बढ्दै गयो तर यो कसरत सफल पार्न त्यति सहज थिएन। कारण लोकतान्त्रिक मधेसी मोर्चाभित्र रहेको जनमत पार्टी, लोसपा र जसपाबिचको सम्बन्ध राम्रो थिएन। पहिला जसपा र लोसपाका नेता आपसमा छलफल गर्न जुटे। संयोग जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर मधेस प्रदेशको राजधानी जनकपुरधाममै थिए। उनीहरू आआफ्ना पार्टीगत कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका थिए।
उपेन्द्र यादव र महन्थ ठाकुरबिच सोमबार राति मधेस प्रदेश सरकारमा नेतृत्व चयन विषयमा छलफल भयो। छलफलपछि दुवै नेताहरूबिच लोसपालाई नेतृत्व दिने हकमा समझदारी बन्यो। त्यसपछि दोस्रो तहका नेताहरूबिच छलफल सुरु भयो। जसमा जनमतका नेताहरू पनि सहभागी भए। यसमा समन्वयकारी भूमिका खेलेका थिए– जसपाका नेता अमरेन्द्र यादव (दीपेश) ले। उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
जसपा, लोसपा र जनमतबिचको छलफलबाट कांग्रेस, एमालेबाहेकको सत्ता समीकरण बनाउने समझदारी बनेपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल भयो। छलफलपछि मंगलबार राति अबेरसम्मको छलफलबाट पाँचवटै दलहरूबिच सहमतिको पत्र तयार भयो। सहमति पत्रमा पाँचवटै दलका नेताहरूले हस्ताक्षर गरेर मुख्यमन्त्रीमा लोसपाका नेता एवं मधेस प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गर्ने भनिएको थियो।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव भन्छन्, ‘यो केबल सत्ता समीकरण नभएर मधेसकेन्द्रित दलहरूबिच एकताको सन्देश पनि हो। मधेसको मर्म र भावनालाई मधेसकेन्द्रित सबै दलले आत्मसात् गरेका छन् भन्ने सन्देश प्रवाह भएको छ।’
जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले भने, ‘नयाँ समीकरण मधेस र मधेसीको भावनाअनुसार छ। हामीले मधेसी दलकै नेतृत्वमा सरकार बनाएका छौं।’
सोनल मधेस आन्दोलनमा अग्रपंक्तिमा रहेर काम गरेका नेता हुन् । उनी बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। २०७४ को मा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेला उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए।
प्रकाशित: ३० आश्विन २०८२ ०९:१२ बिहीबार





