नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकार राजनीतिक विवेकले नभई दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको आरोप लगाएका छन्।
उनले यो सरकार डरले बनेको र डरले नै टिकेको टिप्पणी गरे। नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।’
उनले कांग्रेस–एमालेभित्रका इमानदार नेताहरूलाई यस्तो सरकारमा बस्न नहुने समेत बताए। सरकारमाथि दलाल पुँजीवाद हाबी भएको टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।’
उनले सहकारी क्षेत्रमा देखिएको ठगी प्रकरणमा समेत कांग्रेस–एमालेका नेताहरूको संलग्नता रहेको आरोप लगाए। आफू नेतृत्वको सरकारले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार नै ढालिएको उनको भनाइ थियो। ‘त्यसैले त्यो काम अघि बढ्न सकेन,’ उनले भने।
अध्यक्ष दाहालले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताए। माओवादी नेतृत्वका पालिकाहरूले कार्यक्षमता मूल्यांकनमा उत्कृष्ट नतिजा ल्याएको दाबी गर्दै उनले पार्टीको विचार र नीतिगत स्पष्टताकै कारण सफल परिणाम देखिएको बताए।
उनले संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक भए पनि देशका प्रमुख अंगहरूमा अझै संरचनात्मक परिवर्तन आउन नसकेको स्वीकार गरे। ‘उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ,’ दाहालले भने।
पछिल्लो समय इमानदार कम्युनिष्टहरूबीच एकता बढ्दै गएको र जनताले माओवादी नै आफ्नो पक्षमा काम गर्ने शक्ति हो भनेर बुझ्न थालेको उनले दाबी गरे।
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, स्थायी समिति सदस्य शशी श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: २१ भाद्र २०८२ १६:१३ शनिबार





