आगामी फागुन २१ गतेको चुनाव धोका हो भन्दै देशका विभिन्न ६ बाम घटकले बहिस्कार आन्दोलन सुरु गरेका छन् । चुनाव बहिस्कार आन्दोलनको सुरुवाती चरण अन्तर्गत ६ बाम घट्कका नेता कार्यकर्ताले सोमबार साँझ सदरमुकाम गाईघाटमा पनि मसाल जुलुस प्रदर्शन गरेका छन् ।
राँको बोकेर निस्केको नेता कार्यकर्ताहरुको टोली गाईघाटस्थित लोकतान्त्रिक (पिपल) चोक पुगेको केही बेरमै प्रहरी सुरक्षाकर्मीले खोसेर निभाएको थियो । प्रहरीले राँको निभाएलगत्तै जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मोहनसिंह तामाङले जेनजेड आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएकाले चुनाव गराउने अधिकार नभएको बताए ।
६ दर्जन बढी बालबालिकाको ज्यान लिएर बनेको कार्की नेतृत्वको सरकार आफैँ असंवैधानिक भएकाले फागुन २१ गते चुनाव गराउने अधिकार उसलाई नभएकाले ६ बाम घटक बहिस्कार अभियानमा लागेको तामाङले बताए । उनले बहिस्कार आन्दोलनको सुरुमा पुस २८ गते सोमबार साँझ देशव्यापी मसाल जुलुस प्रदर्शन गरेको र आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताए ।
अर्का नेता लिलबहादुर विश्वकर्माले अमेरिकी साम्राज्यबाद र भारतीय विस्तारबादको कठपुतलीको रुपमा खडा भएको कार्की सरकारलाई प्रतिनिधिसभा निर्वाचन गराउने कुनै अधिकार नभएको भन्दै ६ बाम घटक बहिस्कार आन्दोलनमा उत्रिएको बताए । जेन-जी आन्दोलनमा सहादत प्राप्त बालबालिकाको रगतको आहालमा डुबेर चुनाव गराउन खोज्ने कदम असंवैधानिक र गैर कानुनाी भएकाले बहिस्कार गर्नुपरेको उनले बताए ।
चुनाव वहिस्कार आन्दोलनमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबादी पार्टी, समर जङग नेतृत्वको समाजबादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टी आबद्ध छन् ।
प्रकाशित: २८ पुस २०८२ २०:०७ सोमबार





