१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

भदौ २३ मा भुल भएकै हो, त्यसपछि कैयौं रात निदाएनौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतको राजनीतिक घटनाक्रममा नेतृत्वबाट भुल भएको बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त दिनको घटनालाई लिएर आफूहरूलाई पछुतो लागेको र कैयौँ रात अनिदो बस्नुपरेको बताए।

‘भदौ २३ मा भुल भएकै हो, त्यसपछिका कैयौँ रात हामी निदाएनौँ,’ सम्बोधनका क्रममा शर्माले भने, ‘त्यस दिन संसद् जल्न दिएको भए के हुन्थ्यो ? युवाको ज्यान नजान सक्थ्यो। भोलिपल्टको अवस्था पनि नआउन सक्थ्यो।’

महामन्त्री शर्माले पछिल्ला घटनाक्रमले भौतिक संरचना मात्र नभई नागरिक र राज्यबीचको विश्वास जलेको टिप्पणी गरे।

उनले यो विशेष महाधिवेशन केवल पार्टी सुधार्न मात्र नभई नेपाली समाजमा गुमेको विश्वास फर्काउन आयोजना गरिएको जिकिर गरे।

‘घर सिंहदरबार मात्र जलेको होइन, नेपालीहरूबीचको विश्वास जलेको छ,’ शर्माले भने, ‘त्यो विश्वास पुनःस्थापना गर्नका लागि हामीले विशेष महाधिवेशन गरिरहेका छौँ।’

उनले आफूहरू समयअनुसार बदलिन र समाजलाई बदल्न सक्षम रहेको दाबी गरे। ‘हामी बदलिन पनि सक्छौँ, बदल्न पनि सक्छौँ,’ उनले भने, ‘यो महाधिवेशन कांग्रेसलाई बलियो बनाउन मात्र होइन, अनेक कारणले कमजोर भएको देशलाई बलियो बनाउन हो।’

प्रकाशित: २७ पुस २०८२ १८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App