राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई द्वन्द्वबाट बचाउन र दीर्घकालीन समाधान दिनका लागि राजा, जेन-जी र राजनीतिक दलहरूबीच नयाँ समझदारी हुनुपर्ने बताएका छन्।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष लिङ्देनले जेन-जी आन्दोलनकै बीचमा आफ्नो पार्टीले संसद विघटनको माग गरेको स्मरण गराए। ‘यो संसदले निकास दिन सकेन, समस्याको सम्बोधन गर्न सकेन, त्यसकारण संसद विघटन हुनुपर्छ भनेर हामीले सबैभन्दा पहिले माग राख्यौँ र राजीनामा पनि दियौँ,’ उनले भने, ‘हामीले मागेर मात्रै भयो भन्दिनँ, संसद विघटन पनि भयो। अब संसद पुनःस्थापनाको कुनै औचित्य छैन।’
उनले देश नयाँ निर्वाचनमा जानुपर्ने तर वर्तमान संविधान र निर्वाचन प्रणाली अन्तर्गतको चुनावले देशलाई निकास दिन नसक्ने दोहोर्याए। ‘फेरि पनि यही संविधान, यही निर्वाचन प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन सक्दैन भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने।
अध्यक्ष लिङ्देनले देशको दीर्घकालीन समस्या समाधानका लागि नयाँ शक्तिको उदय आवश्यक रहेको बताए। ‘देशलाई फेरि द्वन्द्वमा जान नदिनका लागि सबै राजनीतिक शक्तिहरू, खासगरी अहिलेका राजनीतिक दलहरू, आन्दोलनको महत्वपूर्ण पक्ष जेनजी र परम्परागत शक्तिको प्रतिनिधि राजाको बीचमा नयाँ समझदारी गरेर कसैले नहार्ने र देशले जित्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।
उनले यस्तो समझदारीले भविष्यमा कुनै पनि आन्दोलन हुन नपर्ने, कसैले पनि आफूलाई पाखा परेको महसुस गर्न नपर्ने र नेपालको निर्णयको अधिकार नेपाली जनताकै हातमा छ भन्ने प्रमाणित हुने बताए।
उनले आगामी निर्वाचन भएमा आफ्नो पार्टीले भाग लिने तर वर्तमान प्रणालीले देशको समस्या समाधान नगर्ने कुरामा आफूहरू प्रष्ट रहेको बताए।
प्रकाशित: २९ आश्विन २०८२ १७:५४ बुधबार





