नेपाली कांग्रेसमा अहिले देखिएको संकट संस्थापन र इतर पक्षबीचको मात्र होइन, एउटै समूहभित्र रहेका नेताहरूको आपसी अविश्वास, नेतृत्वको आकांक्षा र राजनीतिक एजेन्डाको टकरावसम्म पुगेको संकट हो। यसको पछिल्लो दृश्य संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापनमा देखियो । जहाँ सभापति गगन थापाविरुद्ध एउटै स्वरमा प्रस्तुत हुन खोजेको समूहकै दुई प्रभावशाली नेता विमलेन्द्र निधि र प्रकाशशरण महत मञ्चमै प्रस्तावको भाषामाथि भिडे।
यो सामान्य शब्दको विवाद थिएन। प्रस्तावमा धर्मसम्बन्धी शब्दावलीदेखि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निरन्तरतासम्मका विषयमा देखिएको असहमति कांग्रेसभित्रको गहिरो वैचारिक र शक्ति-संघर्षको संकेत हो।
विवादको भित्री कथा
समापन सत्रमा ‘१४औँ महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ’ भन्ने प्रस्ताव प्रस्तुत भयो। हलले ताली बजाएर अनुमोदन पनि गर्यो। तर त्यसपछि प्रस्तावको भाषालाई लिएर महत र निधिबीच असहमति देखियो।
महतले प्रस्तावमा ‘कार्यसमिति’ शब्द राख्नुपर्ने अडान लिए। त्यसपछि पोडियममै पुगेका निधिले उनलाई हट्न आग्रह गरे। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा कागज तानातान र भनाभनको दृश्यसमेत देखिन्छ।
रोचक पक्ष धर्मसम्बन्धी प्रस्तावमा देखियो। ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने वाक्य राख्ने विषयमा महत पक्षको जोड थियो भने निधिले ‘धार्मिक स्वतन्त्रता’ शब्दमै सीमित रहनुपर्ने तर्क गरेको देखिन्छ।
यो विवादलाई सतही रूपमा हेर्दा एउटा शब्दको विवादजस्तो लाग्न सक्छ। तर कांग्रेसभित्र धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र हिन्दू–सनातन सांस्कृतिक पहिचानको बहस नयाँ होइन। महत स्वयंले विगतमा कांग्रेसको वैचारिक धरातलका रूपमा धार्मिक स्वतन्त्रताको पक्षमा धारणा राख्दै आएका छन्।
त्यसैले यसलाई केवल ‘मञ्चमा भएको झगडा’ भनेर टार्नु पर्याप्त हुँदैन। कांग्रेसको भावी राजनीतिक पहिचान कस्तो हुने भन्ने बहससमेत यसमा जोडिएको छ।
इतर समूहमा देखिएन एउटै राजनीतिक लक्ष्य
गगन थापाको कार्यशैलीप्रति असन्तुष्ट नेताहरू एउटै ठाउँमा जम्मा भए पनि उनीहरूबीच यति धेरै मतभेद बढेको देखियो ।
उनीहरू ‘गगनविरोध’ मा एक ठाउँमा छन्, तर ‘गगनपछि कांग्रेस कस्तो बनाउने?’ भन्ने प्रश्नमा एउटै ठाउँमा छैनन्। इतर समूहमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशशरण महतलगायत फरक राजनीतिक पृष्ठभूमि र फरक नेतृत्व आकांक्षा भएका नेताहरू छन्।
१५औँ महाधिवेशनलाई लक्षित गर्दै यीमध्ये धेरै नेताबीच विगतदेखि नै समीकरण बनाउने प्रयास हुँदै आएको थियो।
त्यसैले अहिलेको ‘इतर समूह’ वास्तवमा परम्परागत अर्थको एउटै गुट होइन। यो गगन थापाको नेतृत्वविरुद्ध बनेको साझा असन्तुष्टिको मोर्चा हो, जसका सदस्यहरूको दीर्घकालीन स्वार्थ र नेतृत्वको गणित भने फरक–फरक छन्।
यसको प्रमाण यसअघि पनि देखिएको थियो। १५औँ महाधिवेशनको समीकरण बनाउन पूर्वपदाधिकारी तहका नेताहरूबीच छुट्टै गठजोडको प्रयास भइरहेको थियो। त्यहाँ पनि सभापतिको आकांक्षा राख्ने नेताहरूबीच साझा उम्मेदवार बनाउने पुरानै समस्या थियो।
अर्थात्, गगन थापा साझा विरोधको केन्द्र बनेका छन्, साझा नेतृत्वको विकल्प भने अझै बनेको छैन।
कांग्रेसको अहिलेको आन्तरिक विवादलाई धर्म, सदस्यता, कार्यसमिति वा महाधिवेशनको मितिका अलग–अलग मुद्दामा मात्र बुझ्दा तस्वीर अधुरो हुन्छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि उनको नेतृत्वलाई लिएर विवाद सुरु भयो। निर्वाचन आयोगसँगको वैधानिकताको विवाद सर्वोच्च अदालतसम्म पुग्यो र अन्ततः थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने बाटो खुलेको थियो।
तर कानुनी वैधता टुंगिए पनि राजनीतिक वैधताको प्रश्न टुंगिएन।
इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई समायोजन, क्रियाशील सदस्यता अद्यावधिकको प्रक्रियामा पुनर्विचार र निष्पक्ष महाधिवेशनको माग उठाउँदै आएको छ। सदस्यता अद्यावधिककै विषय जिल्ला, क्षेत्र हुँदै वडा तहसम्म विवादको विषय बनेको रिपोर्ट सार्वजनिक भएका छन्।
यही कारण कांग्रेसको विवाद अहिले विचारभन्दा बढी संगठन र प्रतिनिधित्वको नियन्त्रणसँग जोडिएको देखिन्छ।
गगन भन्छन् चुनदेवीको विवाद ‘मलाई नसोध्नु’
कांग्रेसका दुई समानान्तर गतिविधि भइरहेका बेला सभापति गगन थापाले इतर समूहको भेलाबारे पत्रकारले मलाई अहिले ‘नसोध्नुहोला, म भोलि सानेपाबाट सबैलाई भन्नेछु’ भन्दै आफूले जीवनभर नभोगेको निन्दा तीन दिनमै खेपेको बताए। हुन त उनले यो जवाफ एक पुस्तकको विमोचनका क्रममा बोलेका थिए । फरक प्रसंगमा बोले पनि उनको संकेत भने पार्टीभित्रको विवादले आफू आजित भएको आसयसहितको थियो ।
सभापति थापाको यो जवाफलाई दुई कोणबाट बुझ्न सकिन्छ।
पहिलो, थापा तत्काल सार्वजनिक विवादमा प्रतिवाद गरेर इतर समूहको एजेन्डालाई थप ऊर्जा दिन चाहँदैनन्। त्यसैले उनले ‘सडकको आरोपको जवाफ सडकबाट होइन, पार्टी कार्यालयबाट दिने’ संकेत गरेका छन्।
दोस्रो, यो अभिव्यक्तिमा थापाको असन्तुष्टि पनि स्पष्ट छ। उनीमाथि ‘एकलौटी’, ‘मनोमानी’ र ‘पार्टीलाई विभाजनतर्फ लैजाने’ आरोप इतर समूहका नेताहरूले सार्वजनिक रूपमै लगाउँदै आएका छन्। निधिले समेत सहमति नभए नयाँ बाटो रोज्न बाध्य हुने चेतावनी दिएका थिए भने महतले कांग्रेस सामूहिक निर्णयको संस्कारमा चल्नुपर्ने बताएका थिए।
त्यसैले थापाको ‘जीवनभर नभएको निन्दा’ भन्ने अभिव्यक्ति केवल व्यक्तिगत गुनासो होइन; उनले इतर समूहको अभियानलाई आफ्नो नेतृत्वविरुद्धको संगठित राजनीतिक घेराबन्दीका रूपमा बुझेको संकेत पनि हो।
गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउनु लोकतान्त्रिक पार्टीमा स्वाभाविक हो। तर त्यसको विकल्प के हो?
इतर समूहले ‘सामूहिक नेतृत्व’, ‘सहमति’, ‘निष्पक्ष महाधिवेशन’ र ‘पार्टी एकता’को कुरा गरिरहेको छ। तर आफ्नै राष्ट्रिय भेलामा प्रस्तावको एउटा वाक्य र धर्मसम्बन्धी शब्दावलीमा शीर्ष नेताहरूबीच मञ्चमै कागज खोसाखोस हुने अवस्था आउनुले एउटा असहज प्रश्न जन्माएको छ । यसको जवाफ कांग्रेसजनले खोजेका छन् ।
गगन थापाले पार्टी एकलौटी चलाए भन्ने आरोप लगाउने समूह स्वयं कति एकताबद्ध छ भन्ने प्रश्न पनि इत्तर समूहलाई आउन थालेको छ ।
एउटा साझा प्रस्तावलाई समेत एउटै मञ्चमा सहमतिका साथ पारित गर्न कठिन हुन्छ भने भोलि पार्टीको नेतृत्व, उम्मेदवार छनोट, संगठन पुनर्संरचना र महाधिवेशन प्रतिनिधिको व्यवस्थापनमा यी नेताबीच कसरी सहमति होला ?
पछिल्ला महिनाका घटनाले थापा नेतृत्व र पुरानो संस्थापनबीच विश्वासको संकट गहिरिएको देखाउँछन्। थापा र पूर्णबहादुर खड्काबीच सम्पर्क र विश्वासको अभाव, सदस्यता अद्यावधिकको विवाद तथा महाधिवेशनको प्रक्रियामाथिको असहमति यसका उदाहरण हुन्।
तर त्यसभन्दा गहिरो समस्या कांग्रेसको पुस्तान्तरण र शक्ति हस्तान्तरणको संक्रमण हो।
पुरानो नेतृत्वले संगठन, प्रतिनिधि र परम्परागत शक्ति-सञ्जालमाथिको प्रभाव छाड्न चाहेको छैन। नयाँ नेतृत्वले त्यसलाई बदल्न खोजेको छ। बीचमा रहेका दोस्रो तहका नेताहरू आफूलाई भावी नेतृत्वको स्वाभाविक दाबेदार ठान्छन्। परिणामतः सबैको तत्कालीन स्वार्थ एउटै छैन।
यही कारण कांग्रेसमा अहिले दुईवटा समानान्तर ध्रुवीकरण देखिन्छन् । एकातिर गगनविरुद्ध इतर समूहको ध्रुवीकरण, अर्कोतिर इतर समूहभित्रै भावी नेतृत्वका लागि हुने प्रतिस्पर्धा।
पहिलो ध्रुवीकरणले दोस्रो ध्रुवीकरणलाई केही समय ढाक्न सक्छ तर समाप्त भने गर्न सक्दैन।
मञ्चको भिडन्तले देखाएको ट्रेलर
विमलेन्द्र निधि र प्रकाशशरण महतबीच मञ्चमा देखिएको विवाद त्यसैले एउटा ‘सामान्य प्राविधिक असहमति’ मात्र होइन। त्यो कांग्रेसको आजको वास्तविकताको प्रतीक हो।
बाहिरबाट हेर्दा कांग्रेसमा संस्थापन र इतर छन्। भित्र हेर्दा इतरभित्र पनि अनेक आकांक्षा छन्। एउटै समूहमा रहेका नेताहरूबीच पनि विचार, नेतृत्व र संगठनको नियन्त्रणबारे फरक–फरक हिसाब छ।
कांग्रेस भित्रको अहिले विवाद केवल ‘कसले पार्टी चलाउने?’ भन्ने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्नेमा पनि छ ।
गगन थापा आफूलाई नयाँ पुस्ता, संगठन सुधार र कांग्रेसलाई समाजसँग जोड्ने अभियानको प्रतिनिधिका रूपमा प्रस्तुत गरिरहेका छन्। उनले कांग्रेसलाई केवल चुनाव जित्ने मेसिन नभई समाज परिवर्तनको शक्ति बनाउनुपर्ने बताउँदै आएका छन्।
इतर समूह भने उनको शैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनमाथि प्रश्न उठाइरहेको छ।
तर यदि इतर समूहले गगनको विकल्प बन्ने हो भने उसले केवल ‘गगन गलत छन्’ भनेर पुग्दैन। उसले ‘हामी सही किन हौँ?’ भन्ने देखाउन जरुरी छ।
प्रकाशित: ३१ श्रावण २०८३ १९:१५ आइतबार





