८ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले खोज्न टर्च बाल्नुपर्दैन, मैदानमै छौं र फेरि पनि मुलुकको नेतृत्व गर्छौं: महेश बस्नेत

फाइल।

नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमालेलाई कमजोर ठानेर टर्च बालेर खोज्नुपर्ने टिप्पणी गर्नेहरू भ्रममा रहेको बताएका छन्।

एमाले जनताको सुख-दुःखको मैदानमै क्रियाशील रहेको दाबी गर्दै उनले आगामी दिनमा मुलुकको नेतृत्व पुनः एमालेले नै गर्ने जिकिर गरे।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले पार्टीको जनआधार समाप्त भएको भनी फैलाइएका भाष्यहरू प्रायोजित भएको बताए।

‘एमालेलाई कमजोर देखाउन र धर्तीमै नभएको पुष्टि गर्न विपक्षीहरूले सामाजिक सञ्जालको सहारा लिएर यस्ता कुरा उछालेका हुन्,’ बस्नेतले भने, ‘तर गाउँ-बस्तीको मैदानमा गएर हेर्दा जनताको वास्तविक विश्वास र आशाको केन्द्र अझै पनि एमाले नै हो।’

विपक्षी दलहरूको आलोचनाको केन्द्रमा पनि एमाले नै रहनुले पार्टीको शक्ति पुष्टि हुने उनको तर्क थियो। ‘हामी मैदानमै छाैं, जनतासँगै छौं,’ उनले भने, ‘विपक्षीहरूको प्रहारको केन्द्रमा पनि एमाले छ र आम जनताको आशाको केन्द्रमा पनि एमाले नै छ। त्यसैले भोलिको राजनीतिक निकास र मुलुकको नेतृत्व दिने निर्णायक शक्ति हामी नै हौं।’

सामाजिक सञ्जालमा लोकप्रियताको हौवा पिटाएर सत्तामा पुगेकाहरूको मुकुण्डो पाँच-छ महिनामै उत्रिएको बस्नेतले दाबी गरे। स्टन्टबाजी र भ्रमपूर्ण प्रचारले देशको विकास र जनताको सेवा हुन नसक्ने भन्दै उनले वर्तमान सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न पूर्ण असफल भइसकेको बताए।

महँगी, भ्रष्टाचार, प्रतिशोधको राजनीति र विपद् व्यवस्थापनको चरम लापर्बाहीविरुद्ध जनतामा तीव्र आक्रोश बढेको उल्लेख गर्दै बस्नेतले चाडबाडपछि त्यसको परिणाम देखिने चेतावनी दिए।

दसैं, तिहार र छठ पर्वलगत्तै एमालेको नेतृत्वमा सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरेर देशव्यापी सडक आन्दोलन चर्काइने र त्यसले वर्तमान सरकारलाई बिदा गर्ने उनको भनाइ थियो।

प्रकाशित: ८ आश्विन २०८३ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App