नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन विभाजनको नभई एकताको महाधिवेशन हुनुपर्ने बताएका छन्। पार्टीभित्र देखिएका विवाद, मनमुटाव तथा बाँकी असहमतिलाई अन्त्य गर्न सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकता अपनाउनुपर्ने उनको भनाइ छ।
सहमति र सहकार्यका माध्यमबाट सबै पक्षलाई समेटेर अघि बढे मात्रै महाधिवेशनले एकताको सन्देश दिने शाहीले बताएका छन्।महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता नगरी एकपक्षीय ढंगले गरिने महाधिवेशनको कुनै औचित्य नरहने उनले बताएका छन्।
‘महाधिवेशन भनेको एउटा पर्व, एउटा उत्सव र नेतृत्व परिवर्तनको एउटा अवसर हो,’ शाहीले भनेका छन्, ‘तर वर्षौंदेखि कुरिरहेका जिल्लाका नेताहरूलाई जिल्ला अधिवेशनमा नेतृत्व परिवर्तन गर्न बन्देज लगाउने र प्रदेश अधिवेशन गर्न रोक लगाउने निर्णय गैरलोकतान्त्रिक र विधानको ठाडो उल्लंघन हो।’
उनले जिल्ला र प्रदेश तहमा नेतृत्व परिवर्तन रोक्दै केन्द्रमा मात्रै परिवर्तन खोज्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। ‘जिल्ला र प्रदेशमा परिवर्तन नचाहिने तर आफू हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने ? यो कस्तो अनौठो तरिका हो ?’ उनले प्रश्न गरेका छन्।
शाहीले जिल्ला र प्रदेश अधिवेशन नगरी हतारमा कागजी महाधिवेशन गर्ने प्रयासले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिएका छन्। उनका अनुसार विगतमा विशेष महाधिवेशनका नाममा पार्टी कब्जा गरेजस्तै अहिले पनि सीमित गुटका मानिस मात्रै जम्मा गरेर केही दिनको हल्लाखल्ला गर्नुको कुनै अर्थ छैन।
सबै पक्षलाई सहमतिमा ल्याएर समग्र एकताको महाधिवेशन गर्नुपर्नेमा मनोमानी ढंगले एकपक्षीय र कर्मकाण्डी महाधिवेशनको तयारी गर्नुले नेपाली कांग्रेसलाई थप कमजोर, क्षतविक्षत र छिन्नभिन्न बनाउने उनको भनाइ छ।
‘कर्मकाण्डी एकपक्षीय महाधिवेशन गर्नु भनेको आजसम्म बचेको कांग्रेसको इतिहासलाई समेत समाप्त पार्नु हो,’ शाहीले बताएका छन्।
प्रकाशित: २६ भाद्र २०८३ १४:१२ शुक्रबार



-600x400.jpg)
-600x400.jpg)
