२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

जिम्मेवारी लिने संस्कार छैन, नेपाल ‘बहुसंकट’ को अवस्थामा छ : राजनीतिक विश्लेषक खनाल

राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा हार र असफलताको जिम्मेवारी लिने संस्कार कमजोर हुदाँ मुलुक अहिले ‘बहुसंकट’ को अवस्थाबाट गुज्रिरहेको बताएका छन्। 

‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले निर्वाचनमा पराजय व्यहोरेपछि वस्तुनिष्ठ आत्मसमीक्षा गर्नुको सट्टा अन्तरघात वा अन्य बाह्य कारणलाई दोष दिने प्रवृत्ति हाबी भएको बताए। 

साथै उनले कुनै पनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण खोज्न इच्छुक नदेखिएको र पराजयलाई स्वीकार गरी सुधारको बाटो खोज्ने राजनीतिक संस्कार विकास हुनुपर्ने बताए। 

‘कुनै पनि राजनीतिक दलले चुनाव हार्नुको वास्तविक कारण आत्मसमीक्षा गर्न चाहँदैन। हारको जिम्मेवारी आफूले लिनुको सट्टा अन्तरघात वा अरूलाई दोष दिने प्रवृत्ति देखिन्छ। हारेको पार्टी नै हो भन्ने यथार्थ स्वीकार गरेर सुधारको बाटो खोज्नु आवश्यक छ,’ खनालले भने। 

प्रा खनालले सरकारले समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा तत्कालका लागि मत्थर पार्ने काम मात्रै गरिरहेको बताए। उनले मिटरब्याज पीडितसँग भएको सम्झौता तथा देवानगञ्ज घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै समस्या समाधान नभई केही समयका लागि मात्र शिथिल पारिएको बताए। 

‘अहिले नेपाल बहुसंकटको अवस्थामा छ। समस्या एकपछि अर्को गर्दै आइरहेका छन्, तर तिनको स्थायी समाधानभन्दा तत्काल शिथिलीकरणमा मात्र ध्यान दिइएको छ,’ उनले भने। 

प्रकाशित: १६ श्रावण २०८३ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App