परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले चुनावी प्रतिबद्धताअनुसार नै काम अघि बढाइरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार गठनपछि सय बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेर सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए।
उनले चुनावका क्रममा भ्रष्टाचारसँग सम्बन्धित पुराना काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता गरिएको स्मरण गर्दै त्यसअनुसार काम भइरहेको स्पष्ट पारे। मन्त्री खनालका अनुसार २०६३ सालपछि सार्वजनिक महत्वका विषयमा संलग्न साधारण व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तथा मूल भ्रष्टाचारका काण्डहरू अनुसन्धान गर्न आयोग गठन भइसकेको छ।
उनले मन्त्रिपरिषद्का सदस्यहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि उनीहरूलाई समेत छानबिनको दायरामा ल्याइएको उल्लेख गर्दै छानबिनकै क्रममा पदसमेत छोड्नुपरेको अवस्था आएको बताए।
‘सरकार गठन भएको दुई महिनामै हामीले भ्रष्टाचार र सुशासनको सवालमा कुनै सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सामना गर्न र निष्पक्ष छानबिन हुन दिन सरकार अडिग छ।’
मन्त्री खनालले सेवा प्रवाहलाई सहज बनाउन सरकार केन्द्रित रहेको पनि बताए। प्रत्येक मन्त्रालयले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिन प्रक्रिया सहजीकरणमा काम गरिरहेको उनको भनाइ थियो।
उनले राहदानी सेवामा समेत सुधार आएको उल्लेख गर्दै सामान्यतया आवेदन दिएको भोलिपल्टै राहदानी प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको दाबी गरे।
प्रकाशित: १४ जेष्ठ २०८३ १९:२४ बिहीबार





