३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय एकता र मेलमिलापको विकल्प छैन: शेखर

फाइल।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुशता सुरु भएको भन्दै बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सान्दर्भिकता झनै बढेर गएको बताएका छन्।

लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै उनले अब सहमति र मेलमिलापकै बाटोबाट अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे।

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्रलाई बलियो बनाउन सबै शक्तिबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन, नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’

पार्टीको आन्तरिक विवादबारे चर्चा गर्दै डा. कोइरालाले सभापति गगन थापासँगको संवाद र असमझदारीबारे खुलेर बोले। आफूले राखेका पाँचवटा बुँदामा थापा पहिले सहमत भए पनि पछि कुरा फेरिएको उनले दाबी गरेका छन्।

‘गगनसँग कुराकानी गर्दा उनले मेरा पाँच कुरा स्वीकारेका थिए, तर सहमति गर्न अहिले के कुराले रोक्यो ?’ कोइरालाले प्रश्न गरेका छन्।

गगन थापा कोइराला निवासमै पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएको भन्दै उनले सोही कारण आफू ५ बुँदे माग सार्वजनिक गर्न बाध्य भएको व्याख्या गरेका छन्।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र संकटमा परेको भन्दै उनले गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताको मन्त्र आफ्नै दलभित्रबाटै सुरु गर्नुपर्नेमा जोड दिए।

सहमतिविना कांग्रेस एक कदम पनि अगाडि बढ्न नसक्ने जिकिर गर्दै कोइरालाले पार्टी कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै आफू पार्टी एकताको पक्षमा दृढताका साथ उभिने र विभाजनको रेखा कोर्न नदिने बताए।

लोकतन्त्र र विधिको शासन जोगाउन कांग्रेस बलियो हुनुपर्ने र त्यसका लागि आन्तरिक एकता अनिवार्य रहेको कोइरालाको ठहर छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ २१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App