१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नर्सको हातमा जादु हुन्छ, बोलीले पनि बिरामी निको पार्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीको उपचारमा औषधि जत्तिकै महत्त्वपूर्ण भूमिका नर्सहरुको व्यवहार र स्याहारको हुने बताएका छन्।

त्रिवि शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीको व्यवहारले बिरामीको आत्मबल बढाउने बताए।

‘मानिसहरू बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति ठूलो विश्वास र आशा राख्छन्। अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ, त्यो विश्वासलाई पूरा गर्नु तपाईंहरूको दायित्व हो,’ उनले भने।

नर्सहरूको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नर्सहरुको हातमा जादु हुन्छ। बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छ। चिकित्सकले सिफारिस गरेको औषधि ठिक समयमा खुवाउने र स्याहारसुसार गर्ने काम नर्सहरूको हो।’

आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै उनले नेपालमै उपलब्ध उत्कृष्ट उपचार यहीँ लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको नयाँ सेवा भवनको उद्घाटन गर्नुका साथै उत्कृष्ट कर्मचारी र अस्पताल निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान गरेका थिए।

प्रकाशित: ३० असार २०८२ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App