नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको सहकार्य पुनः अगाडि बढ्ने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्, सडक र आगामी निर्वाचनमा समेत एमालेसँग मिलेर अघि बढ्ने बताएका हुन्।
संयोजक दाहालले तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यका लागि सकारात्मक वातावरण बनेको सुनाए। संसद्मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन एमालेसँगको कार्यगत एकता अनिवार्य भइसकेको उनको तर्क छ।
‘पार्लियामेन्ट, सडक र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति हुँदैछ,’ उनले भने, ‘यसले नयाँ राजनीतिक आयाम थप्नेछ।’
आफ्नो राजनीतिक यात्रामा ‘क्रमभङ्ग’ गरिरहने स्वभावलाई स्मरण गर्दै दाहालले आगामी महाधिवेशनबाट फेरि नयाँ र ऐतिहासिक क्रमभङ्ग हुने दाबी गरे । उनले यसलाई आफ्नो जीवनको ‘अन्तिम क्रमभङ्ग’ भनेका छन्। त्यसका लागि मानसिक रूपमा तयार रहन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।
जतिसुकै मतभेद भए पनि कम्युनिस्ट शक्तिहरूले आफ्नै घर बलियो बनाउनुको विकल्प नभएको उनको भनाइ थियो।
संयोजक दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना पनि गरे। रास्वपा सरकारमा सहभागी भएको सय दिन पनि नपुग्दै उसको वास्तविक चरित्र उदाङ्गिएको उनले आरोप लगाए।
सिमानामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार असुल्ने र गरिब सुकुम्बासीका बस्तीहरू भत्काउने कार्यले रास्वपाको असली पहिचान देखाएको दाहालको दाबी छ।
‘उनीहरू आफ्नै गलत हर्कतका कारण जनताको नजरमा गिर्दै गएका छन्, यसमा हाम्रो कुनै दोष छैन,’ दाहालले भने, ‘रास्वपा गरिब, सुकुम्बासी, जनजाति र उत्पीडित समुदायको विरोधीको रूपमा देखिएको छ।’
वर्तमान सरकार नवउदारवादी र फासिस्ट शैलीमा अगाडि बढेको भन्दै उनले रास्वपाले प्रदेश संरचना र संविधान नै खारेज गर्ने खेल खेलिरहेको आरोप लगाए।
दाहालले सामाजिक सञ्जालमा हुने आलोचना र गालीलाई सामान्य रूपमा लिन आग्रह गर्दै क्रान्तिकारी निर्णय लिन पार्टी पछि नहट्ने स्पष्ट पारे। ‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौं,’ उनले थपे, ‘भ्रममा नपरी अगाडि बढ्नुस्, महाधिवेशनमा प्रचण्डको अन्तिम क्रमभङ्ग देख्न पाउनुहुनेछ।’
प्रकाशित: १२ असार २०८३ १८:०७ शुक्रबार

