सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले ११ देशका राजदूत फिर्ता बोलाउनुमा विशेष कारण रहेको र तत्काल नयाँ राजदूत नियुक्त नगरिने स्पष्ट पारेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खरेलले देशको परिवर्तित सन्दर्भमा फिर्ता बोलाइएका राजदूतहरूको भूमिका, कार्यसम्पादन र पारदर्शिताको मूल्याङ्कन गरेर नै उक्त निर्णय लिइएको बताए।
‘११ वटा देशबाट हाम्रा राजदूतहरू फिर्ता गर्यौँ। त्यसको कारण विशेष नै हो,’ मन्त्री खरेलले भने, ‘परिवर्तित सन्दर्भमा उहाँहरूको भूमिका निर्वाचनका लागि, सुशासनका लागि र देशका प्राथमिकताहरूको सन्दर्भमा कति प्रभावकारी भयो भनेर हामीले मूल्याङ्कन गरेका थियौँ।’
उनले केही राजदूतहरूको भूमिका प्रभावकारी नदेखिएको, केहीको आर्थिक पारदर्शितालगायतका विषय जोडिएको र कतिपयले देशलाई भन्दा व्यक्तिगत स्वार्थलाई बढी प्राथमिकता दिएको जस्तो देखिएकाले फिर्ता बोलाउनुपरेको सङ्केत गरे।
सरकारको यो निर्णयपछि रिक्त रहेका स्थानमा नयाँ राजदूत नियुक्त गर्ने कि नगर्ने भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता खरेलले अन्तरिम सरकारले थप राजदूत नियुक्त नगर्ने बताए।
‘सरकारले रिक्त रहेको ठाउँमा अब थप राजदूतहरू नियुक्त गर्दैन। किनभने यो अन्तरिम सरकार हो,’ उनले भने। राजदूत नहुँदा दूतावास सञ्चालनमा समस्या नहुने उनको भनाइ थियो।
‘सम्बन्धित देशका राजदूतावासहरूमा रहेका दोस्रो वा त्योभन्दा तल्लो तहका कर्मचारीहरूसँग कुरा गर्दा दूतावास चलाउन कुनै समस्या छैन भन्ने भएपछि र सरकार आर्थिक रूपले मितव्ययी ढंगले चल्नुपर्ने भएकाले यो निर्णय गरिएको हो,’ मन्त्री खरेलले थपे।
उनले राजदूत नहुँदा पनि दूतावासका काममा कुनै समस्या नहुने गरी व्यवस्था मिलाइएको जानकारी दिए।
प्रकाशित: १३ कार्तिक २०८२ १९:३९ बिहीबार





