२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

हल्ला धेरै छन्, तर तथ्य बुझ्न जरुरी छ : गृहमन्त्री गुरुङ

फाइल तस्विर

गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेको चर्चाबारे स्पष्ट पार्दै तथ्यभन्दा हल्ला बढी फैलिएको बताएका छन्। उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन्। 

'पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।,' उनले लेखेका छन्।  

उनका अनुसार '२५ लाखको सेयर लुकाइएको' भन्ने आरोप तथ्यपरक नभई वर्गीकरणसम्बन्धी विषय हो। धितोपत्र बजारमा कारोबार हुने सेयरअन्तर्गत २ करोड रुपैयाँभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिएको उनले जनाएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उनको भनाइ छ।

'२५ लाखको सेयर लुकाइएको' भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।,' उनले लेखे।

लुकाउने उद्देश्य भएको व्यक्तिले खुला रूपमा ठूलो रकमको सम्पत्ति नदेखाउने उनको दाबी छ। 

मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयमा उनले सेयरमा लगानी गर्नु अपराध नभएको जिकिर गरे। सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गर्दै उनले पैसाको स्रोत, समय र गन्तव्य सबै अभिलेखमा देखिने बताएका छन्।

''मन्त्री हुनुअघि सेयर किनियो' भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बै‌ंकिङ च्यानलमार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,' उनको प्रश्न छ। 

लगानीको स्रोतबारे उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार ऋण (कर्जा) मार्फत रकम जुटाइएको र सोही रकम बैंकिङ च्यानलमार्फत लगानीमा प्रयोग गरिएको स्पष्ट पारे। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले उल्लेख गरेका छन्।

''विवादित व्यक्तिसँग साझेदारी' सम्बन्धी आरोपबारे उनले एउटै कम्पनीमा सयौँदेखि हजारौँ सेयरधनी रहने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु सरह नहुने बताए। एउटै कम्पनीमा विभिन्न संस्था र व्यक्तिहरूको लगानी रहने तथ्यलाई आधार मान्दा सबैलाई एउटै रूपमा दोषी ठहर गर्न नसकिने उनको तर्क छ।

सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपमा उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई सम्पत्ति शुद्धिकरण विभाग रहेको र सोही निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिए। 'यदि हस्तक्षेप भएको भए प्रक्रिया अघि बढ्ने थिएन,' उनले भने।

लगानी गर्दा पृष्ठभूमि नजाँची निर्णय गरिएको भन्ने टिप्पणीबारे उनले व्यापारिक लगानीमा जोखिम रहने र भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने बताए। पछि भएका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु तथ्यभन्दा व्याख्या मात्र हुने गृहमन्त्री गुरुङको भनाइ छ।

''पृष्ठभूमि नजाँची लगानी' भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ। पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो। 'प्रतिक्रिया नदिनु'लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।,' उनले थपे, 'हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।'

प्रकाशित: ७ वैशाख २०८३ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App