राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६२ र ६३ को राजनीतिक परिवर्तनपछि संविधानमा धर्म निरपेक्ष शब्द जबरजस्ती समावेश गरिएको बताएका छन्। वैदिक सनातन धर्मसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
लिङ्देनले सो पश्चात् नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भनाइ राखे। यस्तै उनले विगतको निर्णयले नेपाललाई हिन्दु राष्ट्रको पहिचानबाट वञ्चित गरेको जिकिर गरे। पछिल्लो समय देशमा हिन्दुत्वको जागरण बढ्दै गएको भन्दै उनले धर्मको विषयमा आफूले राजनीतिक स्वार्थका लागि नभई पहिचान र एकताको सवालका रूपमा आवाज उठाउँदै आएको बताए।
‘६२ ६३ पछि देशलाई अकारण धर्म निरपेक्ष घोषणा गरियो। त्यो बेला हिन्दु राष्ट्रको पक्षमा बोल्नु जोखिमपूर्ण थियो । तर यो कुनै जात विशेषको मुद्दा होइन, नेपालको पहिचान र एकतासँग जोडिएको विषय हो,’ उनले भने।
धर्म निरपेक्षता र हिन्दु राष्ट्रबीच स्पष्ट छनोटको बहस खुला रूपमा हुनुपर्ने बताउँदै उनले समुदाय नै डरायो भने यो मुद्दा कसले उठाउँछ भन्दै प्रश्न गरे।
प्रकाशित: १ फाल्गुन २०८२ १६:३६ शुक्रबार





